दमौली । यहाँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीस्थित मुक्तिनाथ च्यवनधाममा आयोजित खुल्ला भजन प्रतियोगिताको उपाधि कास्कीको माछापुच्छ«े सेवा समाजले जितेको छ ।
महाशिवरात्रि पर्वको अवसरमा बुधबार आयोजित प्रतियोगितामा आठ समूहलाई पछाडी पार्दै समाजले उपाधि जितेको हो । प्रतियोगितामा भुलभुले वाराही भजन समूह द्वितीय, महेश्वर खनाल भजन समूह शुक्लागण्डकी तृतीय र राधाकृष्ण भजन समूह शुक्लागण्डकीले सान्त्वना स्थान प्राप्त गरेको छ ।
विजेता समूहले क्रमशः रु ५१ हजार, रु ३६ हजार, रु २१ हजार र रु पाँच हजार नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रिता थापा, वरिष्ठ लोक गायक पुरुषोत्तम न्यौपाने, राष्ट्रिय भजन चुड्का संरक्षण प्रतिष्ठानका उपाध्यक्ष भोला भण्डारीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
पछिल्लो समय आधुनिकताका नाममा भजन लोप हुन थालेपछि संरक्षणको प्रयास गरिएको च्यवनधामका अध्यक्ष होमनाथ लम्सालले जानकारी दिए।