शिवरात्रिमा बुढुवाखोलामा सामूहिक माछा मार्ने प्रचलन (तस्बिर सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शिवरात्रिमा बुढुवाखोलामा सामूहिक माछा मार्ने प्रचलन (तस्बिर सहित)

    खबरपुञ्ज संवाददाता

    १४ फाल्गुन २०८१, बिहीबार

    दमौली । तनहुँको भिमाद नगरपालिका–३ स्थित बुढुवाखोलामा शिवरात्रि पर्वमा स्थानीयवासीले सामूहिक रूपमा भेला भएर माछा मार्ने प्रचलनलाई निरन्तरता दिएका छन् । यहाँ वर्षौंदेखि स्थानीयवासीले महाशिवरात्रि पर्वमा सामूहिक रूपमा माछा मार्दै आएका छन् ।   
      
    शिवरात्रिको दिन बिहानदेखि खोलामा माछा मार्नेको भीड लागेको स्थानीयवासी चेतबहादुर मल्लले जानकारी दिए । शिवरात्रिमा यस खोलामा माछा मार्ने प्रचलन वर्षौंदेखि चलिआएको र त्यसलाई यहाँका स्थानीयवासीले निरन्तरता दिएको उनले बताए । “माछा मार्ने यहाँको प्रचलन नै हो । यसलाई प्रत्येक वर्ष स्थानीयवासीले निरन्तरता दिएका छन् । हामीले थाहा पाएदेखि नै यो चलन रहँदै आएको छ”, मल्लले भने ।   


      
    माछा मार्ने कार्यमा सहभागी भएका वसन्तसिंह ठकुरीले विगतका वर्षमा तीन÷चार सय व्यक्ति भेला भई माछा मार्ने गरे पनि यस वर्ष भने करिब दुई सयको सङ्ख्यामा सहभागी भएको जानकारी दिए । उनका अनुसार माछा मार्न बालक, युवादेखि वृद्धसम्म बुढुवाखोला पुगेका थिए । ढडिया, जाल, डोकोलगायत सामग्री प्रयोग गरी परम्परागत रूपमा माछा मार्ने प्रचलन रहँदै आएको छ ।   
      
    भिमाद नगरपालिका–३ का वडाध्यक्ष पदम ठकुरीले माछा मार्ने प्रचलनले स्थानीयवासीबीच भाइचाराको विकास भएको बताए । उनले भने, “यो एउटा चलिआएको चलन मात्र नभई आपसी सद्भाव र भाइचाराको विकास गर्ने माध्यम पनि बनेको छ ।”   
      
    विगत वर्षमा स्थानीयवासीले माछा मारेर फुर्लङभरि लैजाने गरे पनि आजभोलि करेन्ट र विषादीको प्रयोगले बुढुवाखोलामा माछा कम पाउन थालेका छन् । शिवालय नजानेहरू शिवरात्रिमा यहाँ माछा मार्न आउने गरेको छन् ।   
      
    यसपटकको महाशिवरात्रिमा घिरिङ गाउँपालिका–४ र ५ तथा भिमाद नगरपालिका–३ का स्थानीय माछा मार्न सहभागी भएका जनाइएको छ ।   
    —