दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा भोलिदेखि रु तीन लाख राशी पुरस्कारको दोस्रो म्याग्दे अध्यक्ष कप फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको म्याग्दे गाउँपालिकाले जनाएको छ ।
गण्डकी प्रदेश पालिका स्तरीय इलेभेन ए साइड पुरुष फुटबल प्रतियोगिताको आवश्यक तयारी सकिएको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विष्णु केसीले जानकारी दिए।
म्याग्दे गाउँपालिका–५ मा सञ्चालन हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ पालिकाको सहभागिता रहने केसीले बताए । उनका अनुसार कास्कीको अन्नपूर्ण र रुपा गाउँपालिका, लमजुङको दोर्दी गाउँपालिका, तनहुँको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका र म्याग्दे गाउँपालिकाको सहभागिता रहनेछ ।
प्रतियोगितामा विजेताले रु तीन लाख र उपविजेताले रु एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने दुई टिमलाई जनही रु १५ हजार प्रदान गरिनेछ ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई रु दश हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिडर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार प्रदान गरिने केसीले जानकारी दिए ।
नेपालको लोकप्रिय खेल फुटबलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भूमिका रुपमा परिचित रहेकाले खेलकुदको माध्यमबाट म्याग्देको पहिचान गराउन प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए।