दमौली । तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा शुक्रबारदेखि सुरु भएको दोस्रो म्याग्दे अध्यक्ष कप फुटबल प्रतियोगितामा तनहुँको शुक्लागण्डकी नगरपालिकाले विजयी सुरुवात गरेको छ ।
म्याग्दे गाउँपालिका–५ छाङपाटनस्थित खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा भिमाद नगरपालिकालाई १–० गोलले पराजित गर्दै शुक्लागण्डकीले विजयी सुरुवात गरेको छ । खेलको तेस्रो मिनेटमा शुक्लागण्डकीका विशाल गुरुङले गरेको गोल निर्णायक भयो ।
प्रतियोगिताको दोस्रो दिन शनिबार तनहुँको भानु नगरपालिका र कास्कीको अन्नपूर्ण गाउँपालिका तथा तनहुँको व्यास नगरपालिका र देवघाट गाउँपालिकाबीच खेल हुने गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विष्णु केसीले जानकारी दिए ।
प्रतियोगितामा गण्डकी प्रदेशका ११ पालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा कास्कीको अन्नपूर्ण र रुपा गाउँपालिका, लमजुङको दोर्दी गाउँपालिका, तनहुँको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका र म्याग्दे गाउँपालिकाको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजेताले रु तीन लाख र उपविजेताले रु एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने दुई टिमलाई जनही रु १५ हजार प्रदान गरिनेछ ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई रु दश हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिडर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार प्रदान गरिने केसीले जानकारी दिए ।
नेपालको लोकप्रिय खेल फुटबलका लागि म्याग्दे गाउँपालिका फुटबल खेलाडी उत्पादनमा उर्वर भूमिका रुपमा परिचित रहेकाले खेलकुदको माध्यमबाट म्याग्देको पहिचान गराउन प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।