दमौली । अधिवक्ता विश्व बास्तोलाले कानुन व्यवसायीको हैसियतमा दिइएको परामर्शलाई राजनीतिसँग जोड्न नमिल्ने प्रष्टीकरण दिएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत् बास्तोलाले व्यास नगरपालिकाको सरसफाई केन्द्रका लागि जग्गा खरिद प्रकृयासँग जोडेर आफूलाई बदनाम गर्न खोजिएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘व्यास नगरपालिकाद्वारा फोहोर व्यवस्थापनका लागि जग्गा खरिद प्रक्रियामा भएका गतिविधिलाई लिएर सामाजिक सन्जालमा केही व्यक्तिहरुले व्यक्त गरेका धारणा र प्रतिक्रियाहरुले मेरो ध्यानाकर्षण भएको छ । मैले एउटा कानुन व्यावसायीको नाताले एक जना सेवाग्राहीलाई निजको लेनदेन व्यवहारको विषयमा फोन मार्फत कानुनी परामर्श दिएको प्रसङ्गलाई पूर्वाग्रहपुर्ण तरिकाले विषयान्तर गरि प्रस्तुत गरिएको अवस्था हो । जग्गा खरिद प्रक्रियासँग उक्त फोन वार्ताको कुनै सम्बन्ध छैन ।’
आफू कानुन व्यवसायी भएको नाताले जो कसैले कानुनी सल्लाह मागेमा निजको हितमा सल्लाह दिनु पेशागत धर्म भएको बताउँदै उनले सो बाहेक उक्त प्रसङ्गमा कुनै सरोकार नरहेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘अडियो संवाद पूरा सुनेर यथार्थ कुरा बुझेर मात्र आफ्नो धारणा बनाउन सबैमा अनुरोध गर्दछु । एउटा कानुन व्यवसायीले पेशागत मर्यादाभित्र रहेर गरेको कार्यलाई अतिरन्जित गरी केही व्यक्तिहरुले राजनीतिकरण गर्ने उद्धेश्यले राष्ट्रिय स्वतन्त्र पार्टीलाई विवादमा तान्न खोज्नु पुर्वाग्रहपुर्ण देखिन्छ ।’