व्यासको सरसफाई केन्द्रको अडियो प्रकरण छानबिन गर्न माओवादीको माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यासको सरसफाई केन्द्रको अडियो प्रकरण छानबिन गर्न माओवादीको माग

    खबरपुञ्ज संवाददाता

    १८ फाल्गुन २०८१, सोमबार

    दमौली । नेकपा माओवादी केन्द्र व्यास नगर कमिटीले व्यास नगरपालिकाको सरसफाई केन्द्र निर्माणका लागि जग्गा प्रकरणबारे सार्वजनिक भएको अडियोबारे छानबिनका लागि माग गरेको छ ।

    सो पार्टीका नगर अध्यक्ष गोपाल सुर्खालीले आइतबार प्रेस विज्ञप्ती मार्फत् उक्त घटनाको सत्यतथ्य छानबिनका लागि माग गरेका हुन् ।

    फागुन १७ गते नगरपालिका उप-प्रमुख सहित जग्गा व्यवस्थापन समितिका संयोजक र वडा अध्यक्षहरु सहभागी भई गरिएको पत्रकार सम्मेलनमा व्यक्त भएका भनाइहरु, विभिन्न सञ्चार माध्यममा प्रकाशित/प्रसारित समाचारहरु र सामाजिक सञ्जालहरुमा आइरहेका गतिविधिहरुप्रति पार्टीको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख गरिएको छ।

    विज्ञप्तीमा भनिएको छ, ‘यी र यस्ता गतिविधिहरुबाट व्यास नगरपालिका भित्र भइरहेका क्रियाकलापहरुप्रति शंका उत्पन्न भई प्रश्न उठेको छ । जनप्रतिनिधि र कर्मचारी संयन्त्रले एकअर्कालाई दोषारोपण गर्ने काम आफैमा शोभनीय छैन । यसले व्यास नगरपालिका विगत देखिनै भष्ट्राचारको अखडा बनिरहेको कुरा छर्लङ्ग हुन्छ ।’

    व्यास नगरपालिका भित्र भइरहेका यस्ता कार्यहरुप्रति माओवादीको घोर भर्त्सना रहेको जनाउँदै भष्ट्राचार विरोधी अभियानलाई साथ दिदै आम जनसमुदायबाट प्रर्दशित जन समर्थनको जगमा व्यास नगरपालिका भित्रको चरम भष्ट्राचार, बेथिति, अनियमितताको कडा विरोध गरिएको उल्लेख गरिएको छ ।