दमौली । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सव आज सकिदै छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले समापन गर्ने संघका अध्यक्ष एवम् मुल संयोजक समुन्द्रराम श्रेष्ठले बताए ।
समापनसँगै महोत्सवमा आज लोकदोहोरी गायक विष्णु खत्री र गायिका सरिता सारुको विशेष प्रस्तुती राखिएको छ । फागुन ९ देखि शुरु महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ ।
साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए ।
साथै रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता सकिएको छ । यि प्रतियोगिताको नतिजा पनि आज घोषणा हुने श्रेष्ठले जानकारी दिए ।
पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ । भालिबल प्रतियोगिताको फाइनल खेल पनि आजै हुदै छ । फाइनलमा तनहुँको शुक्लागण्डकी नगरपालिका र नवपलपुरको बौदीकाली भिड्दै छन् ।
सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो ।