दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा आयोजक म्याग्दे र लमजुङको दोर्दी गाउँपालिका फाइनलमा प्रवेश गरेका छन् ।
म्याग्दे गाउँपालिका–५ छाङपाटनस्थित खेलमैदानमा आज सम्पन्न सेमिफाइनलमा शुक्लागण्डकी नगरपालिकालाई पराजित गर्दै आयोजक फाइनलमा प्रवेश गरेको हो । म्याग्दे गाउँपालिकाले शुक्लागण्डकी नगरपालिकालाई ४–२ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा तनहुँको बन्दीपुर गाउँपालिकालाई २–० ले पराजित गर्दै लमजुङको दोर्दी गाउँपालिका फाइनल प्रवेश गरेको छ ।
आयोजक म्याग्दे र दोर्दीबीच फाइनल खेल बुधबार हुने म्याग्दे गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विष्णु केसीले जानकारी दिए।
प्रतियोगितामा विजेताले रु तीन लाख र उपविजेताले रु एक लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने सेमिफाइनलमा पुग्ने दुई टिमलाई जनही रु १५ हजार प्रदान गरिनेछ ।
त्यस्तै उत्कृष्ट खेलाडीलाई रु दश हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिडर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु पाँच हजार प्रदान गरिने आयाेजकले जनाएकाे छ ।
प्रतियोगितामा कास्कीको अन्नपूर्ण र रुपा गाउँपालिका, लमजुङको दोर्दी गाउँपालिका, तनहुँको व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका, ऋषिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका र म्याग्दे गाउँपालिकाको सहभागिता रहेको थियो ।