दमौली । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) व्यास नगर कमिटीले व्यास नगरपालिकाको सरसफाई केन्द्रको जग्गा प्रकृयासँग सम्बन्धित अडियो प्रकरणको छानबिन गर्न माग गरेकाे छ ।
नगर कमिटी अध्यक्ष मङ्गलप्रसाद श्रेष्ठ, उपाध्यक्ष विष्णुबहादुर खड्का, सचिव रनसि नेपालीले मङ्गलबार जारी गरेकाे विज्ञप्तीमा साे प्रकरणकाे सत्यतथ्य जनतासमक्ष यथाशीघ्र ल्याउन र अनियमिततामा संलग्नहरुलाई कडा भन्दा कडा कारवाहीकाे दायरामा ल्याउन माग गरिएकाे छ ।
विज्ञप्तीमा भनिएकाे छ, ‘हालै सामाजिक सञ्जाल र स्थानीय पत्रिकाहरुमा व्यापक रुपमा चर्चामा आइरहेकाे व्यास नगरपालिकाकाे सरसफाई केन्द्र स्थापनाका लागि जग्गा खरिद गर्ने कार्य सम्बन्धि व्यास नगरपालिकाका उपप्रमुख, जग्गा व्यवस्थापन समितिका संयाेजक, केही वडाध्यक्ष, अन्य जनप्रतिनिधि, उद्याेग वाणिज्य संघ, सराेकारवाला र स्थानीय जनताकाे उपस्थितिमा व्यास नगरपालिका सरसफाई केन्द्र जग्गा व्यवस्थापन समितिले फागुन १७ गते आयाेजना गरेकाे पत्रकार सम्मेलनमा जग्गा खरिदका सम्बन्धमा व्यापक रुपमा अनियमितता हुन लागिरहेकाे सन्दर्भ र यसमा व्यास नगरपालिकाका विभिन्न तहका कर्मचारीहरुकाे संलग्नता समेत रहेकाे सन्दर्भ छरपष्ट भएकाे देखिन्छ ।’