दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सम्पन्न प्रदेशस्तरीय अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको बौदीकाली गाउँपालिकाले जितेको छ ।
चौथो शुक्लागण्डकी महोत्सवका अवसरमा सञ्चालित प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई हराउँदै बौदीकालीले प्रतियोगिताको उपाधि जितेको हो । निकै प्रतिस्पर्धात्मक रुपमा भएको खेलमा बौदीकालीले शुक्लागण्डकीलाई ३–२ सेटले पराजित गरेको हो ।
बौदीकालीले दोस्रो २५–२१, चौथो २५–१८ र पाँचौ १५–१० को सेटमा शुक्लागण्डकीलाई पराजित गरेको हो । शुक्लागण्डकीले पहिलो सेट २५–२२ र तेस्रो सेट २५–१६ जितेको थियो ।
यस्तै प्रतियोगितामा स्याङ्जाको पुतलीबजार नगरपालिका तेस्रो भएको छ । पुतलीबजार नगरपालिकाले स्याङ्जाको हरिनास गाउँपालिकालाई सोझो ३–० सेटमा पराजित गरेको खेल व्यवस्थापन समितिका संयोजक अमृत घिमिरेले जानकारी दिए ।
उपाधिसँगै नवलपुरको बौदीकाली गाउँपालिकाले नगद रु दुई लाख प्राप्त गरेको छ । उपविजेता बनेको शुक्लागण्डकी नगरपालिकाले रु एक लाख, तृतीय भएको पुतलीबजार नगरपालिकाले रु ५० हजार र चौथो भएको हरिनास गाउँपालिकाले रु २५ हजार प्राप्त गरेको छ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बौदीकालीका रेशम छन्त्याल घोषित भए । उत्कृष्ट स्पाइकर शुक्लागण्डकीका विष्णु क्षेत्री, डिफेन्डर शुक्लागण्डकीका कृस मल्ल, सर्भर शुक्लागण्डकीकै भुपेन गुरुङ घोषित भए । उत्कृष्ट सेटर बौदीकालीका विवस आले, ब्लकर बौदीकालीकै विश्वास अधिकारी घोषित भए । उनीहरुलाई जनही रु पाँच हजार प्रदान गरिएको छ ।
सेमिफाइनलको पहिलो खेलमा स्याङ्जाको हरिनास गाउँपालिकालाई पराजित गर्दै शुक्लागण्डकी नगरपालिका फाइनल प्रवेश गरेको थियो । दोस्रो सेमिफाइनलमा स्याङ्जाको पुतलीबजार नगरपालिकालाई पराजित गर्दै बौदीकाली फाइनल प्रवेश गरेको थियो ।
विजयीलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित लगायतले पुरस्कार वितरण गरेका छन् ।