दमौली, ४ चैत । तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाईको आयोजनामा प्रशिक्षण तथा व्यवसाय अभिमुखीकरण कार्यक्रम सोमबार भएको छ ।
उक्त कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभाका सांसद शंकर भण्डारीले पछिल्ला केही वर्ष बिग्रदो आर्थिक अवस्थाले साना व्यवसायीहरु मारमा परेको हुँदा तिनै तहका सरकारले व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्ने बताए ।
म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले गाउँपालिकाले व्यवसायमैत्री नीति निर्माण गरिएको बताए । गाउँपालिकाकाले व्यवसायमैत्री नीति निर्माण गरेको र व्यावसायिक सुरक्षाको प्रत्याभुति दिलाएपछि पछिल्लो समय म्याग्देमा ३१२ जना व्यवसायी सुचिकृत भई करको दायरामा आएको बताए ।
स्थानीय तहको कर, राजश्व, व्यवसाय दर्ता तथा सुचिकरण, खाद्य सुरक्षा र गुणस्तर व्यवस्थापन विषयमा आयोजित उक्त प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, तनहुँ उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तेजकुमार मल्ल, वडा नम्बर ७ का अध्यक्ष एवं आर्थिक विकास समितिका संयोजक बसन्तकुमार श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष शिवबहादुर रानाभाट लगायतले मन्तव्य राखेका थिए ।
तनहुँ उद्योग वाणिज्य संघ थर्पु बजार इकाईका अध्यक्ष सुन्दरमणी अधिकारीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सन्चालन सचिव राजिव श्रेष्ठले र स्वागत उपाध्यक्ष सुरेन्द्र अधिकारीले गरेका थिए ।
उक्त कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, आन्तरिक राजश्व कार्यालय र खाद्य तथा गुण नियन्त्रण कार्यालयका प्रतिनिधिले स्थानीय तहको कर, राजश्व, व्यवसाय दर्ता तथा सुचिकरण, खाद्य सुरक्षा र गुणस्तर व्यवस्थापन विषयमा प्रशिक्षण दिएका थिए ।