दमौली, १७ चैत । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रका लागि यहाँका एक युवा व्यवसायी एवं सामाजिक अभियान्ताले रु एक सय अभियान सञ्चालन गरी रु दुई लाख भन्दा बढि रकम सङ्कलन गरेका छन् ।
गौ संरक्षण केन्द्रमा रहेका गाइहरुको व्यवस्थापनका लागि शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटार निवासी राजेश पाण्डेले रु एक सय अभियान सञ्चालन गरेका हुन् । एक महिना सञ्चालित उक्त अभियानबाट रु दुई लाख ३५ हजार पॉच सय ७४ सङ्कलन भएको छ । यस अभियानमा चार सय ३७ जनाले सहयोग गरेको पाण्डेले जानकारी दिए।
उनले भने, “बिहीबार एक महिना पुगेपछि मैले यो अभियान स्थगित गरेको छु । यस अभियानमा देश तथा विदेशमा रहेका विभिन्न व्यक्तिहरु जोडिनुभयो ।” सामाजिक सञ्जालबाटै सुरु गरेको अभियानमा प्रति व्यक्ति न्यूनतम रु एक सय सङ्कलन गर्ने लक्ष्य राखिएपनि कतिपयले स्वतःस्फूर्त रुपमा बढी रकम समेत प्रदान गरेको पाण्डेको भनाइ छ । पाण्डेका अनुसार बढीमा रु १६ हजार सहयोग दिने दाता पनि छन् ।
उनले भने, “एक थुकी सुकी, हजार थुकी नदी भन्ने नारा नै छ । सङ्कलित उक्त रकमबाट गौ संरक्षण केन्द्रका लागि दाना र चोकर खरिद गरेर केही दिनभित्रै उपलब्ध गराउँछौ ।”
सङ्कलित रकम र रकम दिनेको नामावली सामाजिक सञ्जालबाटै पारदर्शीताका लागि प्रकाशित गरिएको पाण्डेले बताए । छाडा रुपमा छाडिएका पशुचौपाया व्यवस्थापनका लागि गौ संरक्षण केन्द्र स्थापना गरिएको र यसको सञ्चालनका लागि केही सहयोग पुगोस् भनेर यो अभियान सुरु गरेको उनको भनाइ छ ।
उनले भने, “व्यवसायसँगै सामाजिक काममा रुची भएकाले यो अभियान थालेको हूँ ।” केही समय विदेशमा समेत बसेका उनले देशमै केही गरौं भन्ने भावनासहित अहिले जन्मठाउँमै व्यवसाय गरिरहेका छन् ।
पाण्डेले यसअघि सामाजिक सञ्जालमार्फत् भेन्टिलेटरमा रहेका एक बिरामीका लागि रु ४० हजार र मिर्गौला समस्या भएका व्यक्तिलाई रु एक लाख तीन हजार सहयोग सङ्कलन गरी हस्तान्तरण गरेका थिए ।
छाडा छोडिएका चौपायाको कारण राजमार्गमा सवारी दुर्घटना हुने, यातयात जाम हुने, बालबालिका, महिला तथा ज्येष्ठ नागरिकहरु त्रसित हुने गरेको र चौपायाको मलमूत्रले बजार क्षेत्र नै दुर्गन्धित हुन थालेपछि नगरपालिकाले संरक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । दूध दिन छाडेपछि कृषकले जथाभावी गाईवस्तु छाडिदिने गरेको र पोखरा महानगरपालिकाबाट समेत गाईवस्तु शुक्लागण्डकीमा भित्रिन थालेको थियो ।
हाल गौ संरक्षण केन्द्रको व्यवस्थापन मुक्तिनाथ च्वयनधामले गरिरहेको छ । च्वयनधामका अध्यक्ष होमनाथ लम्सालले गौ संरक्षण केन्द्रका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले विविध अवसर पारी सहयोग गर्ने गरेको जानकारी दिए ।