दमौली, २६ चैत । शुक्लागण्डकी नगरपालिका-७ स्याउली बजार निवासी साढे सात वर्षीय सयान खत्रीको उपचारका लागि सहयोग जुटाउन समिति गठन गरिएको छ ।
मगर समाज भवनमा मंगलबार बसेको बैठकले विगत चार वर्षदेखि क्यान्सरसँग जुधिरहेका खत्रीको उपचारका लागि उपचार सहयोग जुटाउन समिति गठन गरेको हो।
सामाजिक अभियान्ता राजेश पाण्डेको संयोजकत्वमा ‘क्यान्सर बिरामी सयान खत्री बचाउ अभियान’ गठन गरिएको छ। समितिको उपसंयोजकमा कपिल सिग्देल चयन भएका छन्।
बालकको उपचारका लागि करिब दुई करोड लाग्ने भएकाले सहयोग जुटाउन लागिएको पाण्डेले बताए।
खत्रीको ‘बोनम्यारो’ प्रत्यारोपण गर्नुपर्ने भएकाले परिवारले आर्थिक सहयोगका लागि अपिल गरेको छ । उनको हाल भारतको दिल्लीस्थित म्याक्स हस्पिटलमा उपचार भइरहेको छ ।
निज बालकको बाबु ध्रुव खत्रीले हालसम्म जेनतेन छोराको उपचार गरेपनि अब पैसा सकिएकाले उपचारमा समस्या भएको बताए ।