दमौली, २६ चैत । तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा ढुङ्गा लागेर मंगलबार एक चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–९ बस्ने ३९ वर्षीय सुकबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत चुनपहरामा सडक विस्तारका लागि खटिएको चिनियाँ कम्पनीका एक्साभेटर बिग्रिएर मर्मत गर्ने क्रममा सोही एक्साभेटरका चालक गुरुङलाई माथिबाट ढुङ्गाले लागेको थियो । ढुङ्गा लागेर घाइते उनलाई मोती मेडिकल हलमा प्रारम्भिक उपचार पश्चात् चितवन मेडिकल कलेज पठाइएकामा उनको अस्पतालमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले जानकारी दिए ।