पाल्पा, २ वैशाख । गोरखाबाट रुपन्देहीको जिजगढी आउने नेपाली सेनाको पदयात्रा टोलीलाई पाल्पामा स्वागत गरिएको छ । गोरखा दरबार हनुमान भन्ज्याङ्बाट सुरु भएको गोरखा–जितगढी पदयात्राको टोली मंगलबार पाल्पा प्रवेशसँगै स्वागत गरिएको हो ।
टोलीलाई जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीसहितको टीमले पाल्पा र स्याङ्जाको सिमाना केलादीघाटमा स्वागत गरेका हुन् । गोरखादरबारबाट २८ चैतमा पैदलयात्रा सुरु भएको हो ।
ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसंगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा तेस्रो पटक आयोजना गरेको हो ।
गोरखाबाट हिडेको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै बैशाख ७ गते ऐतिहासिक जितगढी किल्लामा पुग्नेछ । राष्ट्रिय झण्डासहित एकीकरणमा स्थापित श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्म सहभागी छन् ।
पाल्पामा रामपुर नगरपालिकाको देवीस्थान, दर्छाको सीताकुण्ड, बेलडाँडा, सिलुवा, जव्गादी, बीरकोटमा बास बस्नेछ । त्यस्तै पूर्वखोलाको बाकुमगढी, हुमीन, देविनगर, झडेवा, जगत, गोठादी हुँदै माथागढीको यात्रा गर्नेछ । गोठादीबाट झडेवा, मर्मरा, सिकारकोट, सराई माडी दमकडा हुँदै बाँसटारी प्रभासको पदयात्रा गर्नेछ ।
लामडाँडाबाट तानसेन र पुनः प्रभास पुगेर बास बस्नेछ । प्रभासदेखि डुम्रे, मस्याम, मरेक हुँदै दोभानसम्म पुग्ने कार्यक्रम छ । दोभानदेखि नुवाकोटगढी हुँदै बुटवलको तारादल गणलाई झण्डा हस्तान्तरण गरी जितगढी विजयोत्सवमा सहभागी हुने कार्यक्रम रहेको नेपाली सेनाको दि फेमश महिन्द्र दल गणका गणपति भुपेन्द गुरुङले बताए ।