मुग्लिन-पोखराको पश्चिम खण्ड यसरी भइरहेको छ स्तरोन्नति (तस्बिरहरू)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन-पोखराको पश्चिम खण्ड यसरी भइरहेको छ स्तरोन्नति (तस्बिरहरू)

    खबरपुञ्ज संवाददाता

    २ बैशाख २०८२, बुधबार

    दमौली, ३ वैशाख । पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडकको अन्तर्गत पश्चिम खण्डमा सडक विस्तारको कामले गति लिएको छ।

    यस खण्डमा लामो समय सडक क्षेत्राधिकारभित्रका बिजुलीका पोल र खानेपानीका पाइप स्थानान्तरणमा ढिलाइ हुँदा आयोजनाको काम प्रभावित भएको थियो।

    जसले गर्दा सर्वसाधारणले दैनिक आवतजावत गर्न सास्ती भोग्नुपरेको छ। अहिले पोखराको सेती खोला पुल, तालचोक लगायतका क्षेत्र धुलाम्मे भएका छन्।

    पश्चिम खण्ड अन्तर्गत पोखरा र दुलेगौंडासहित मुख्य बजार क्षेत्रमा सडक ४६ मिटरको हुनेछ।

    जामुनेदेखि कुम्ले खोलासम्म १८ मिटर र बाँकी सडक २३ मिटरको कालोपत्रे हुनेछ। एसियाली विकास बैङ्क (एडिबी)को ऋण सहयोगमा भइरहेको पश्चिम खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कम्पनीले पाएको छ।

    यस खण्डका लागि सात अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता गरिएको थियो।

    पश्चिम खण्डको तनहुँको जामुनेदेखि पोखरासम्मको ३८.८८ किलोमिटर दूरीको सडक २० किलोमिटर ६ लेनको बनाइने आयोजनाले जनाएको छ।

    सो राजमार्ग विस्तारको कार्य छिटो सम्पन्न गर्ने उद्देश्यले दुई भागमा विभाजन गरिएको छ। पोखराको पृथ्वीचोकस्थित सेती पुलदेखि तनहुँको म्याग्दे गाउँपालिकाको जामुनेसम्मको ३९ किमी क्षेत्र पश्चिम खण्डमा पर्दछ भने जामुनेदेखि आँबुखैरेनीसम्मको ४३ किमी सडक पूर्वी खण्डमा पर्दछ।

    तस्बिरहरु : नेपाल फोटो लाइब्रेरी