दमौली, १० वैशाख । ऑबुखैरेनी गाउँपालिकाले वैशाख १४ गतेबाट विद्यालय सुचारु गराउन आग्रह गरेको छ । गाउँपालिका अध्यक्ष शुक्र चुमानले मंगलबार विज्ञप्ती जारी गरी वैशाख १४ गतेबाट नियमित रुपमा विद्यालय सूचारु गर्न, गराउनु हुन सम्बन्धित सबै विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक तथा शिक्षकहरुमा आग्रह गरेका हुन् ।
चुमानले भनेका छन्, ‘शिक्षकहरुको जायज मागका लागि हाल चलिरहेको आन्दोलन प्रति आँबुखैरेनी गाउँपालिकाको पनि ऐक्यबद्धता रहेको छ । तथापी लामो समयसम्म विद्यालय बन्द रहँदा भविष्यका कर्णधारका रुपमा रहेका विद्यार्थीहरुमा प्रत्यक्ष असर परेको व्यहोरा सर्वविदितै छ ।’
नेपालको संविधानले नै वालबालिकाले पढ्न पाउने हकलाई मौलिक अधिकारको रुपमा स्थापित गरेको बताउँदै चुमानले आफनो वार्षिक नीति, बजेट तथा कार्यक्रममा शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी गाउँपालिका अर्न्तगतका सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधारका लागि आँबुखैरेनी गाउँपालिका हरदम प्रयत्नशील रहि आएको उल्लेख गरेका छन् ।