दमौली, १२ वैशाख । व्यास नगरपालिकाले आइतबारबाट विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेले शुक्रबार विज्ञप्ती जारी गरी आइतबारदेखि विद्यालय सञ्चालन गर्न आग्रह गरेका हुन् ।
व्यास नगरपालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयसँग सम्बन्धित प्रधानाध्यापक, शिक्षकहरुलाई आन्दोलनको स्वरूप परिवर्तन विद्यालय सञ्चालनमा नियमितता दिनुहुन, सबै सामुदायिक विद्यालय व्यवस्थापन समितिलाई विद्यालय सञ्चालन गर्न सहयोग पुऱ्याउनुहुन र सम्पूर्ण अभिभावकज्यूहरूलाई आफ्नो बालबालिका विद्यालयमा उपस्थित गराई पठनपाठन सञ्चालनमा सहयोग पुर्याइदिनुहुन उनले आग्रह गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ, ‘विद्यमान शिक्षक आन्दोलनका विषयमा यसअघि प्रेस विज्ञप्ति जारी गरी आन्दोलनका विषयहरूमा समर्थन र विद्यालय सञ्चालनमा सहयोग पुर्याउन अनुरोध गरिएको विद्दितै छ । शिक्षक आन्दोलनको मुख्य माग विद्यालय शिक्षा ऐन जारी गर्न र आफ्ना समस्याहरू ऐनमार्फत सम्बोधन होस् भन्ने विषय सान्दर्भिक नै छ । संसदबाट ऐन पारित गर्न निश्चित प्रक्रिया पार गर्नुपर्ने र त्यसले समय लिन सक्ने हुँदा ऐन जारी नहुँदासम्म शिक्षकहरु विद्यालय सञ्चालनमा सहभागी नहुने सन्दर्भले सामुदायिक विद्यालयमा पढाउने अभिभावक र विद्याथीहरुलाई गम्भीर असर पर्ने देखिएको छ ।’