अभियान्ता राजेश पाण्डेको ‘एक सय अभियान’ बाट गौ संरक्षण केन्द्रलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अभियान्ता राजेश पाण्डेको ‘एक सय अभियान’ बाट गौ संरक्षण केन्द्रलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०८२, सोमबार

    दमौली, १५ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीस्थित गौ संरक्षण केन्द्रका लागि यहाँका एक सामाजिक अभियान्ताले सामाजिक सञ्जालमार्फत् रु एक सय अभियान सञ्चालन गरी पराल र चोकर सहयोग गरेका छन् । पाण्डेले सञ्चालन गरेको उक्त अभियानमार्फत् रु दुई लाख ४१ हजार नौ सय छ सङ्कलन भएको थियो ।

    सङ्कलित रकममध्येबाट रु एक लाख ५० हजार बराबरको तीन ट्रक पराल, रु ४४ हजार एक सय ६० बराबरको २३ बोरा चोकर गौ संरक्षण केन्द्रका लागि सहयोग गरिएको हो ।

    उक्त पराल र चोकर सोमबार गौ संरक्षण केन्द्रमा आयोजित कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले गौ संरक्षण केन्द्रका लागि गरिएको सहयोग उदाहरणीय रहेको बताए ।

    सामाजिक सञ्जालबाट सुरु गरेको अभियानमा प्रति व्यक्ति न्यूनतम रु एक सय सङ्कलन गर्ने लक्ष्य राखिएपनि कतिपयले स्वतःस्फूर्त रुपमा बढी रकम समेत प्रदान गरेको पाण्डेको भनाइ छ ।

    उनले भने, “एक थुकी सुकी, हजार थुकी नदी भन्ने नारा नै छ । सङ्कलित उक्त रकमबाट गौ संरक्षण केन्द्रका लागि दाना र चोकर खरिद गरेर उपलब्ध गराएका छौ ।” सङ्कलित रकम र रकम दिनेको नामावली सामाजिक सञ्जालबाटै पारदर्शीताका लागि प्रकाशित गरिएको पाण्डेले बताए । छाडा रुपमा छाडिएका पशुचौपाया व्यवस्थापनका लागि गौ संरक्षण केन्द्र स्थापना गरिएको र यसको सञ्चालनका लागि केही सहयोग पुगोस् भनेर यो अभियान सुरु गरेको उनको भनाइ छ ।

    छाडा छोडिएका चौपायाको कारण राजमार्गमा सवारी दुर्घटना हुने, यातयात जाम हुने, बालबालिका, महिला तथा ज्येष्ठ नागरिकहरु त्रसित हुने गरेको र चौपायाको मलमूत्रले बजार क्षेत्र नै दुर्गन्धित हुन थालेपछि नगरपालिकाले संरक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो । दूध दिन छाडेपछि कृषकले जथाभावी गाईवस्तु छाडिदिने गरेको र पोखरा महानगरपालिकाबाट समेत गाईवस्तु शुक्लागण्डकीमा भित्रिन थालेको थियो ।

    हाल गौ संरक्षण केन्द्रको व्यवस्थापन मुक्तिनाथ च्वयनधामले गरिरहेको छ । च्वयनधामका अध्यक्ष होमनाथ लम्सालले गौ संरक्षण केन्द्रका लागि विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले विविध अवसर पारी सहयोग गर्ने गरेको जानकारी दिए ।