कुमाल समुदायको संस्कृति पाउदुरे नाच संरक्षण गर्न प्रशिक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कुमाल समुदायको संस्कृति पाउदुरे नाच संरक्षण गर्न प्रशिक्षण

    खबरपुञ्ज संवाददाता

    १५ बैशाख २०८२, मंगलवार

    दमौली, १५ वैशाख। यहाँका कुमाल समुदायको संस्कृति पाउदुरे नाच संरक्षण गर्न व्यास नगरपालिका–९ कुमालगाउँमा प्रशिक्षण सुरु गरिएको छ । सामाजिक विकास कार्यालयको आयोजना र कुमाल समाज नेपाल तनहुँको सहजीकरणमा कुमालगाउँमा सोमबारदेखि पाउदुरे नाच प्रशिक्षण सुरु गरिएको हो ।   
      
    पाउदुरे नाच लोप हुन थालेपछि संरक्षणको पहल थालिएको कुमाल समाज तनहुँका अध्यक्ष आलोक कुमालले जानकारी दिए । पाउदुरे नाच प्रशिक्षण कार्यक्रम यही वैशाख २१ गतेसम्म सञ्चालन हुनेछ ।   
      
    प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले हरेक जातजातिले संस्कृति भुल्न नहुने बताए । उनले भने, “कुमाल समुदायको छुट्टै संस्कृति र संस्कार छन् । यसलाई संरक्षण गरी आगामी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।”   
      
    व्यास नगरपालिका–९ का वडाध्यक्ष सुरेश थापाले विभिन्न जातजातिका कला, संस्कृति, परम्परा संरक्षणका लागि वडाले पहल गर्दै आएको बताए । सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुर आचार्यले विभिन्न जातजातिका संस्कृति संरक्षणका लागि कार्यालयले सहयोग गरिरहेको बताए ।   
      
    जिल्लास्थित भानु नगरपालिका, व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, घिरिङ गाउँपालिकामा कुमाल समुदायको बसोबास छ । जिल्लाभर कुमाल समुदायको जनसङ्ख्या आठ हजार ७२७ रहेको छ ।   
      
    कुमाल समुदायको पाउदुरे, हेम्फाई, घाँटु, झ्याउरे, कौराहा आदि मौलिक संस्कृति छन् । पाउदुरे घिरिङ गाउँपालिका र व्यास नगरपालिकाको कलेस्ती कुमाल गाउँमा विशेष पर्वमा नचाउने गरिन्छ । अध्यक्ष आलोक कुमालका अनुसार यो नाचको आफ्नै छुट्टै विधि भएकाले जहाँ पनि नचाउन सम्भव छैन । उनले भने, “यो नाचका विभिन्न चरणहरु हुने गर्दछ । यो गीतको मिठास महसुस गर्न गहिरिएर सुन्नुपर्छ जसमा रामायण खण्ड र कृष्ण चरित्र खण्डमा रहेर यो नाच नचाइने गरिन्छ ।”   
      
    रामायण खण्डमा रामको जन्मदेखि बनवाससम्मको गतिविधिलाई गीतको माध्यमबाट गाउने गरिन्छ र गीतकै पारामा बिजाबारे र मारुनीले नाच्ने गरिन्छ । यसैगरी कृष्ण चरित्र खण्डमा कृष्णको बारेमा गाइने गरिन्छ । गीतको शैली फरक फरक भएता पनि भाव एउटै हुन्छ ।   
      
    घिरिङ गाउँपालिकामा दसैं तिहारको अवसरमा अहिले पनि यो नाच नचाउने गरिन्छ भने व्यासको कलेस्तीको कुमाल गाउँमा भने विस्तारै यो लोप हुने अवस्थामा पुगेको छ । अधिकांश कुमाल समुदायको आर्थिक अवस्था कमजोर भएकाले जिविकाकै लागि विदेशीने जस्ता कारण मौलिक संस्कृति संरक्षणमा ध्यान दिन सकेका छैनन् ।