आधारभुत स्वास्थ्य चौकी स्थापनाको माग गर्दै शुक्लागण्डकी नगरपालिकामा स्थानीयको ताल्चा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आधारभुत स्वास्थ्य चौकी स्थापनाको माग गर्दै शुक्लागण्डकी नगरपालिकामा स्थानीयको ताल्चा

    खबरपुञ्ज संवाददाता

    २३ बैशाख २०८२, बुधबार

    दुलेगौंडा, २४ वैशाख ।तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. १० लोकदीटारका स्थानीयले टोलमा आधारभुत स्वास्थ्य केन्द्र स्थापनाको माग गर्दै शुक्लागण्डकी नगरपालिका कार्यालयको मुल प्रवेशद्धारमा चाबी लगाईदिएका छन् ।

    चाबी लगाउने क्रममा स्थानीय, नेपाल प्रहरी र नगर प्रहरीबीच धकेलाधकेल भएको थियो । वडा र नगरबाटै सिफारिस गरेर आधारभुत स्वास्थ्य केन्द्र निर्माणकालागि मन्त्रालयबाट बजेट परेको भएपनि ढिलाई गरिएको भन्दै चाबी लगाएको स्थानीय एवम् माझ गाउँ टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर कुमालले बताए ।

    गत मंसिर २५ गते लोकदीटारमा आधारभुत स्वास्थ्य केन्द्र आवश्यक परेको भन्दै वडा अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले स्वास्थ्य मन्त्रालयमा अगाडी बढाउन माग गर्दै नगरपालिकालाई माग पत्र पठाएका थिए ।

    नगरपालिकाले सोहि दिननै मन्त्रालयमा केन्द्रका लागि सिफारिस गरेको पाइएको छ । हाल स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत आधारभुत स्वास्थ्य केन्द्र निर्माणकालागि बजेट आएपनि अन्यत्र लैजान लागिएको भन्दै उनीहरुले यसअघि पनि पटक पटक नगरको ध्यानाकर्षण गराएका थिए ।

    पटक पटक वडा र नगरमा ध्यानाकर्षण गरायौ, तर हाम्रो क्षेत्रमा आएको केन्द्र अन्यत्र लैजान खोजिएको छ , नियमले मिल्दैन भन्नुभएको छ, जनप्रतिनिधी हामीसँग कुरै गर्न चाहानुहुन्न, अर्का स्थानीय सुदिप केसीले भने ।

    उनले माग पुरा नभएसम्म चाबी नखुल्ने प्रष्ट पारे । उनले नगर प्रमुख कृष्णराज पण्डितले लोकतीटारमै केन्द्र स्थापना हुन्छ भनेर प्रतिवद्धता जनाएकोमा अहिले आएर प्रतिवद्धताबाट भागिरहेको टिप्पणी गरे । केसीले स्थानीय आउने बित्तिकै नगर प्रमुख कार्यालयबाट निस्किएर जाने गरेको बताए ।

    नगर प्रमुख कृष्णराज पण्डितले कार्यपालिका बैठक लगत्तै चितवन आउनु परेकोले मंगलवार छलफल हुन नसकेको बताए । उनले आधारभुत स्वास्थ्य केन्द्रकै सेवा सरह लोकदीटारमा पूर्वाधारसहितको सेवा दिन नगर तयार रहेको प्रष्ट पारे ।

    वडा नं. १० का अध्यक्ष राजेन्द्र बहादुर भट्टराई क्षेत्रीले एउटै वडामा आधारभुत स्वास्थ्य केन्द्र दुई स्थानमा स्थापना गर्न नमिल्ने भएकाले समस्या आएको बताए । अहिले छब्दीमा आधारभुत स्वास्थ्य चौकी सञ्चालनमा छ, सोहि ठाउँमा पुनः स्थापना गर्न मिल्दैन, हामीले शहरी स्वास्थ्य केन्द्र राख्ने भनेका हौं, उहाँहरु मान्नुभएको छैन ।