दमौली, २४ वैशाख । तनहुँको शुक्लागण्डकी नगरपालिका–१० लोकदीटारका स्थानीयवासीले टोलमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको माग गर्दै शुक्लागण्डकी नगरपालिका कार्यालयको मूल ढोकामा लगाएको तालाबन्दी खुलेको छ । तर मुख्यढोकाको ताला खोलेर नगरप्रमुखको कार्यकक्षमा बुधबार तालाबन्दी गरिएको छ ।
सेवा प्रवाहमा समस्या भएपछि स्थानीयवासीले मुख्यढोकाको ताला खोलेका हुन् ।
मङ्गलबार साँझ स्थानीयवासीले नगरपालिकाको मुख्य ढोकामा तालाबन्दी गरेका थिए । तालाबन्दीका क्रममा स्थानीयवासी, नेपाल प्रहरी र नगर प्रहरीबीच धकेलाधकेल भएको थियो । वडा र नगरबाटै सिफारिस गरेर आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयबाट बजेट परेको भएपनि ढिलाई गरिएको भन्दै तालाबन्दी गर्नुपरेको स्थानीयवासी एवं माझ गाउँ टोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर कुमालले बताए ।
गत मङ्सिर २५ गते लोकदीटारमा आधारभूत स्वास्थ्य केन्द्र आवश्यक परेको भन्दै वडा अध्यक्ष राजेन्द्र भट्टराई क्षेत्रीले स्वास्थ्य मन्त्रालयमा अगाडी बढाउन माग गर्दै नगरपालिकालाई माग पत्र पठाउनुभएको थियो । नगरपालिकाले सोही दिननै मन्त्रालयमा केन्द्रका लागि सिफारिस गरेको पाइएको छ ।
हाल स्वास्थ्य सुधार कार्यक्रम अन्तर्गत आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि बजेट आएपनि अन्यत्र लैजान लागिएको भन्दै उनीहरुले यसअघि पनि पटक–पटक नगरको ध्यानाकर्षण गराएका थिए ।
“पटक–पटक वडा र नगरमा ध्यानाकर्षण गरायौ, तर हाम्रो क्षेत्रमा आएको केन्द्र अन्यत्र लैजान खोजिएको छ । नियमले मिल्दैन भन्नुभएको छ, जनप्रतिनिधि हामीसँग कुरै गर्न चाहनुहुन्न,” स्थानीयवासी सुदीप केसीले भने । नगरप्रमुख कृष्णराज पण्डितले लोकदीटारमै केन्द्र स्थापना हुन्छ भनेर प्रतिवद्धता जनाएकामा अहिले आएर प्रतिबद्धताबाट भागिरहेको उनको आरोप छ ।
नगर प्रमुख कृष्णराज पण्डितले कार्यपालिका बैठक लगत्तै चितवन आउनुपरेकाले मङ्गलबार छलफल हुन नसकेको बताए । उनले आधारभूत स्वास्थ्य केन्द्रकै सेवा सरह लोकदीटारमा पूर्वाधारसहितको सेवा दिन नगर तयार रहेको प्रष्ट पारे ।
वडा नम्बर १० का अध्यक्ष राजेन्द्र बहादुर भट्टराई क्षेत्रीले एउटै वडामा आधारभूत स्वास्थ्य केन्द्र दुई स्थानमा स्थापना गर्न नमिल्ने भएकाले समस्या आएको बताए।