दमाैली, २६ वैशाख । तनहुँको व्यास नगरपालिका–३ को वडा कार्यालय भवन निर्माण सुरु भएको छ । नेपाल टेलिकम आडैको छ आना क्षेत्रफलमा वडा कार्यालय भवन निर्माण सुरु भएको हो ।
उक्त भवनको आज गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले शिलान्यास गरेका छन् ।
व्यास नगरपालिकाको रु एक करोड १८ लाखको लागतमा भवन निर्माण गर्न लागिएको हो । तीन तल्ले भवनमा वडा अध्यक्षको कार्यालय, सचिवको कार्यालय, सभाहल हुने वडाध्यक्ष अनुप रानाले जानकारी दिए।
हालसम्म निमचोकस्थित एक घरमा भाडामा सञ्चालन हुँदै आएको वडा कार्यालयको नयाँ भवन निर्माणपछि सेवा प्रवाहमा सहजता हुने रानाले बताए।
भवन शिलान्यास कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य श्रेष्ठले जनप्रतिनिधिले जनताको भावना अनुसार काम गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले बाेलेका थिए ।
नेपाल सरकार मन्त्रीपरिषद् बैठकले उक्त वडा कार्यालय भवन निर्माणका लागि जग्गा उपयोग गर्न स्वीकृति दिने निर्णय गरेलगत्तै वडा कार्यालय भवन निर्माणको काम सुरु गरिएको हो ।
जिल्ला समन्वय समितिको नाममा दर्ता रहेको तनहुँ जिल्ला साविक फराकचौर गा.वि.स. वडा नं. ९ ग को क्षेत्रफल ०–६–०–० (छ आना) सरकारी जग्गा व्यास नगरपालिका वडा नं. ३ को वडा कार्यालय भवन निर्माणको लागि उपयोग गर्न स्वीकृति दिने निर्णय भएको थियो ।