काठमाडौ, २७ वैशाख । सुनसरीको दुहबी नगरपालिका–३ फुटानी चोकमा पिकअप भ्यान दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको छ ।
उदयपुरस्थित घरबाट घरायसी सामान लिएर दुहवी जाँदै गरेको प्र २–०१–००१ च ०२५१ नम्बरको भ्यान अनियन्त्रित भई शनिबार बिहान ११:५० बजे दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत खतिवडाको मृत्यु भएको हो । दुर्घटनामा सवारी चालक चौदण्डीगढी नगरपालिका–६ का ३८ वर्षीय सुरेश कार्की र उनकी १४ वर्षीया छोरी रोजिना कार्की घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी, सुनसरीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका प्रसनि खतिवडालाई उपचारका लागि विराट टिचिङ अस्पतालमा पुर्याइएकोमा उपचारका क्रममा दिउँसो १२:२१ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्रगतिमा रहेको भ्यान अनियन्त्रित हुँदा सडक छेउको फलामको रेलिङमा ठोक्किएर दुर्घटना भएको थियो ।