दमाैली, २९ वैशाख । तनहुँको म्याग्दे गाउँपालिका–४ र ५ छाङ युवा सञ्जालको आयोजनामा सञ्चालित प्रथम छङ्गेली कप वडा स्तरीय भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिका–१२ ले जितेको छ ।
साेमबार सम्पन्न फाइनल खेलमा शुक्लागण्डकी नगरपालिका–१ को तमु प्रगतिशिल अर्चले युवा क्लवलाई हराउँदै शुक्लागण्डकी नगरपालिका–१२ को ठकुरी समाजले उपाधि जितेको हो ।
प्रतियोगितामा म्याग्दे गाउँपालिका–५ र ६ सान्त्वना हुन सफल भएको छ । प्रतियोगितामा विजेता टिमले रु एक लाख एक हजार, उपविजेताले रु ५० हजार पाँच सय र सान्त्वना हुने दुई टिमले जनही रु १५ हजार पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा शुक्लागण्डकी–१२ का सञ्जु विक्रम शाह उत्कृष्ट खेलाडी, शुक्लागण्डकी–१ का कमल विक उत्कृष्ट स्पाइकर, शुक्लागण्डकी–१२ का अशोक ठकुरी वेष्ट सेन्टर, शुक्लागण्डकी–१२ कै हिमाल सुनारी मिडल ब्लकर, शुक्लागण्डकी–१२ कै मदन ठकुरी उत्कृष्ट डिफेन्डर घोषित भएका छन् ।
‘कला संस्कृति र खेलकुदको प्रबर्धन, हाम्रो गाउँ हाम्रो ठाउँ छाङ हाम्रो पहिचान’ भन्ने नाराका साथ वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो । रित्तिदै गएको छाङ गाउँको पुनजागरण गर्न र छाङको आन्तरिक पर्यटन प्रबद्र्धनका लागि प्रतियोगिता आयोजना गरिएको छाङ युवा सञ्जालका अध्यक्ष भक्तबहादुर गुरुङ (निशान) ले बताए।
प्रतियोगिता संयोजक गौरवराज रानाले अवसरको खोजीमा छाङका स्थानीय शहर झर्दै गएको र खेलकुदको माध्यमबाट गाउँ उक्लिने वातावरण सिर्जना गर्न आयोजित प्रतियोगिता भव्य रुपमा सम्पन्न भएको बताए।