दमाैली, ७ जेठ । यहाँका युवावर्गलाई लक्षित गर्दै जीवनोपयोगी सीप सिकाउन थालिएको छ । स्थानीयलाई स्वरोजगार बनाउने उद्देश्यसहित स्थानीय तहद्वारा ‘युवा लक्षित कार्यक्रम’अन्तर्गत विभिन्न सीप सिकाउन थालिएको हो ।
व्यास नगरपालिका–३ वडा कार्यालयले युवालक्षित जीवनोपयोगी सीप सिकाएर आत्मनिर्भरतातर्फ लैजाने उद्देश्यले कपाल काट्ने र सौन्दर्यकलासम्बन्धी सीपमूलक तालिम दिन थालेको हो । युवालाई लक्षित गरी कपाल काट्नेसम्बन्धी दुई महिने तालिम सञ्चालन गरिएको वडा सदस्य दधिराज घिमिरेले जानकारी दिए । उनले भने, “स्वरोजगारमूलक तालिमलाई प्राथमिकता दिँदै युवालाई आर्थिक आम्दानीमा जोड्ने उद्देश्यसहित तालिक सञ्चालन गरिएको हो । गत वर्ष पनि सीपमूलक तालिम प्रदान गरेका थियौँ ।”
वडाले सञ्चालन गरेको कपाल काट्ने तालिममा १५ युवा र सौन्दर्यकला तालिममा १५ जना युवतीको सहभागिता रहेको घिमिरेले जानकारी दिए ।
व्यास–३ का वडाध्यक्ष अनुप रानाले स्थानीयको माग अनुसार युवालक्षित कार्यक्रम सञ्चालन गर्दै आइएको बताए । उनले भने, “युवायुवतीलाई सीप सिकाएर सक्षम, स्वरोजगार र आम्दानीका स्रोत सुनिश्चित गर्ने लक्ष्य पालिकाको हो । युवायुवतीले जुन तालिमको माग गर्नुहुन्छ सोही अनुसार तालिम दिन थालेका छौँ ।”
कपाल काट्ने तालिम लिनुभएका गौरव धमेलले सीप सिकेपछि भविष्यमा आफैँले व्यवसाय गर्ने योजना बनाएको बताए । उनले भने, “जीवनोपयोगी सीप सिकेपछि भोलिका दिनमा आफैँ स्वरोजगार बन्न सकिन्छ । विदेश जाँदा पनि सीप सिकेर गएमा थप उपलब्धिमूलक हुनेछ ।” ह्याण्डसम पार्लरका सञ्चालक मोविन मोहम्मदले तालिममा सहभागी युवालाई कपाल काट्ने प्रयोगात्मक सीपबारे जानकारी गराएका छन् ।