दमौली, ८ जेठ । पूर्व अर्थमन्त्री एवं नेपाली काङ्ग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले तनहुँ जलविद्युत आयोजना समयमै निर्माण सम्पन्न हुनुपर्ने बताएका छन् ।
तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाको बिहीबार बिहान अनुगमन गर्दै प्रवक्ता महतले तनहुँ जलविद्युत आयोजना सम्पन्न भएपश्चात् देशको जलविद्युत क्षेत्रमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
प्रवक्ता महतले तनहुँ जलविद्युत आयोजना तनहुँको मात्र नभएर देशकै गौरवको आयोजना भएको उल्लेख गरे । प्रवक्ता महतले आयोजना निर्माणका क्रममा केही समस्या भए राष्ट्रिय स्तरबाटै समस्या समाधानका लागि पहल हुने प्रतिबद्धता जनाए ।
त्यसक्रममा प्रवक्ता महतले तनहुँ जलविद्युत आयोजनाको प्याकेज एक अन्तर्गतको बाँध निर्माणस्थल, प्याकेज दुई अन्तर्गतको भूमिगत विद्युतगृहको अनुगमन गरेका थिए ।
प्रवक्ता महतलाई आयोजना प्रमुख श्यामजी भण्डारीले हालसम्मका प्रगतिबारे जानकारी गराए । आयोजनाको तीन वटा प्याकेजमा काम भइरहेको छ । भण्डारीका अनुसार प्याकेज १ अन्तर्गत बाँध निर्माणमा ४२.५ प्रतिश, प्याकेज २ अन्तर्गत भूमिगत विद्युतगृहमा ६७ र प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७४ प्रतिशत प्रगति भएको छ ।
आयोजनाको समग्र निर्माण विसं २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ । कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैङ्कले आठ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले आठ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।