दमाैली, १४ असार । वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले वर्तमान समयका नारीहरूले अवसर आफै सिर्जना गर्ने गरेको बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य (पद्य÷काव्य) विभागको आयोजना र गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँ नेपालको सहआयोजनामा शनिबार दमाैलीमा आयाेजित गण्डकी प्रदेशस्तरीय प्रज्ञा नारी काव्य सङ्गगोठी उद्घाटन समारोहमा श्रेष्ठले नारी सिर्जना र धैर्यताको प्रतिमूर्ति सहनशीलताको शिखर अडिग र सहिष्णुताको मूर्त रुप भएको उल्लेख गरे ।
विगतमा साहित्यिक सिर्जनामा नारी पात्र प्रायः परनिर्भर, सहनशील, त्यागमयी वा आदर्श गृहिणीको सीमित घेराभित्र मात्र प्रस्तुत हुने गरेकोमा समयसँगै समाजमा आएको चेतना, शिक्षा, अधिकारबोध र लैङ्गिक समानताका आन्दोलनहरूले नेपाली साहित्यमा नारीको चित्रणमा उल्लेखनीय परिवर्तन ल्याएको श्रेष्ठले उल्लेख गरे।
उनले नारी लक्षित समय समयमा गरिने यस्ता कार्यक्रमले नारी कविहरूलाई हौसला मिल्ने बताए ।
कार्यक्रममा गण्डकीका नारी कवि र कविताका प्रवृत्ति विषयमा कार्यपत्र प्रस्तुत गरिएको थियो । त्रिभुवन विश्वविद्यालय पद्मकन्या बहुमुखी क्याम्पस काठमाडौँकी नेपाली विभागका विभागीय प्रमुख डाक्टर अम्बिका अर्यालले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणीकारहरूद्वय कल्पना सिलवाल र अन्जना तिमल्सिनाले टिप्पणी गरिन् ।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँकी उपाध्यक्ष एवं कार्यक्रम संयोजक शान्ता बास्तोलाको अध्यक्षतामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट ३० जना भन्दा बढी नारी श्रष्टाहरूले विभिन्न विषयवस्तुमा केन्द्रित रही कविता वाचन गरेका थिए ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान साहित्य पद्य÷काव्य विभाग प्रमुख प्राज्ञ बाबा बस्नेतले नारी साहित्यकारहरूले लेखेका कृतिहरूले परिवर्तनलाई अझ मजबुत बनाएको बताइन। उनले कलमले नारी मनोविज्ञान, सामाजिक दवाब, यौनिकता र पहिचान जस्ता संवेदनशील विषयहरूलाई प्रखर ढङ्गमा उजागर गरेको बताइन्।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान महाशाखा प्रमुख सन्ध्या पहारीले आधुनिक साहित्यले नारीलाई केवल पुरुष पात्रको पूरक मात्र नठानी स्वतन्त्र व्यक्तित्व, सङ्घर्षशील यथार्थ पात्र र विचार बोकेकी सामाजिक परिवर्तनकी संवाहकका रूपमा प्रस्तुत गर्न थालेको बताइन्।
गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनौका अध्यक्ष आकाश अधिकारी, सचिव माधव न्यौपाने लगायतले साहित्यको माध्यमबाट महिलाहरूले आफ्नो भूमिकालाई केवल प्रेम, सौन्दर्य वा सहनशीलताको सीमित घेराबाट बाहिर ल्याई स्वतन्त्र, विद्रोही र आत्मनिर्भर व्यक्तित्वका रूपमा चित्रित गर्न थालेको बताए । कार्यक्रममा सहभागी नारी श्रष्टाहरूले कार्यक्रम अत्यन्त उत्कृष्ट रहेको र यस्ता कार्यक्रमले साहित्यमा नारीका चुनौतीलाई चिर्दै जाने दाबी गरे उक्त कार्यक्रमको सञ्चालन सहसचिव कल्पना घिमिरेले गरेकी थिइन्।