काठमाडौ, १७ असार । बारा-४ का प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले निजामति कर्मचारी विधेयकमा बदमासी गर्ने सजायको भागिदार हुनेपर्ने बताएका छन् ।
मंगलबार सामाजिक सञ्जाल मार्फत् श्रेष्ठले सानो तहका सरकारी कर्मचारीलाई मात्रै कुलिङ पिरियड लागु गर्ने र माथिल्लो तहका कर्मचारीमा त्यो व्यवस्था लागु नहुने गरी विधेयकमा भएको अपराधजन्य फेरबदल नेपालको संसदीय इतिहासमै लज्जाबोध गराउने गम्भीर अपराध भएको उल्लेख गरे ।
राज्य व्यवस्था तथा सुशासन समितिबाट लामो समय छलफल र बहसपछि पारित संघीय निजामति कर्मचारी विधेयकमा प्रतिनिधि सभामा पुग्नुपूर्व भएको छेडखानी अक्षम्य अपराध भएको उनको भनाइ छ । उनले भने, ‘कानुनको निर्माण गर्ने संसदमा पुग्नु पुर्व समितिले पारित गरेको विधेयकमा छेडखानी गरेर दुई वर्षे कुलिङ पिरियडको व्यवस्था भत्काउने गरी भएको कार्यलाई गम्भीरतासाथ लिदैं यसको गम्भीर छानविन गरी दोषी उपर कडा कारवाहीको माग गर्दछु ।’