उद्धारमा खटिएका कारण सम्पत्ति विवरण बुझाउन ढिलाइ भएको सांसद न्यौपानेको स्पष्टीकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    उद्धारमा खटिएका कारण सम्पत्ति विवरण बुझाउन ढिलाइ भएको सांसद न्यौपानेको स्पष्टीकरण

    खबरपुञ्ज संवाददाता

    ३१ भाद्र २०८३, बिहीबार

    तनहुँ १ असाेज। तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपानेले सम्पत्ति विवरण नबुझाउने सांसदहरूको सूचीमा आफ्नो नाम समावेश भएको विषयमा स्पष्टीकरण दिएका छन् ।

    उनले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै गत भदौ १० गते आएको बाढीका कारण त्रिशूली–३ ‘ए’ र चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको उद्धार कार्यमा निरन्तर खटिनुपरेकाले समयमै सम्पत्ति विवरण बुझाउन नसकेको बताए ।

    न्यौपानेका अनुसार भदौ १२ गतेदेखि १९ गतेसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना र त्यसपछि भदौ ३० गतेसम्म चिलिमे जलविद्युत् आयोजना स्थलमै उपस्थित भएर उद्धार तथा समन्वयको काममा खटिएका थिए ।

    सम्पत्ति विवरण बुझाउने अन्तिम मिति भदौ २९ गतेका दिनसमेत आफू चिलिमे जलविद्युत् आयोजना स्थलमै रहेको उनले विज्ञप्तिमार्फत स्पष्ट पारेका छन् । सोही दिन आफ्नो स्वकीय सचिवमार्फत संसद् सचिवालयका सम्बन्धित शाखाका उपसचिव अभिराम राईसँग सम्पर्क गरी सम्पत्ति विवरण बुझाउने विषयमा जानकारी लिइएको उनकाे भनाइ छ ।

    संसद् सचिवालयबाट प्रचलित व्यवस्थाअनुसार निर्धारित समयमा विवरण बुझाउन नसकिएको कारण खुलाउँदै निवेदनसहित थप ३० दिनभित्र सम्पत्ति विवरण बुझाउन सकिने जानकारी प्राप्त भएको न्यौपानेले उल्लेख गरेका छन् ।

    उक्त जानकारीअनुसार निर्धारित समयमा सम्पत्ति विवरण बुझाउन नसक्नुको कारण खुलाउँदै असोज १ गते निवेदनसहित सम्पत्ति विवरण पेश गरिसकेको उनले बताए ।

    सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिका रूपमा कानुन र स्थापित प्रक्रियाप्रति आफ्नो पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै न्यौपानेले उद्धार कार्यमा खटिएको विशेष परिस्थितिका कारण भएको ढिलाइलाई अन्यथा नबुझिदिन आग्रह गरेका छन् ।