मास्टर सेफ साहले काठमाडौँको नक्सालमा सुरु गरे ‘जनकपुर फिस हाउस’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मास्टर सेफ साहले काठमाडौँको नक्सालमा सुरु गरे ‘जनकपुर फिस हाउस’

    खबरपुञ्ज संवाददाता

    १७ असार २०८२, बुधबार

    काठमाडौ, १८ असार । “म नेपालभित्र तराईको खाना र नेपालबाहिर समग्र नेपाली खाना प्रवर्द्धन गरिरहेको छु, यो मेरो आफ्नो खानासँगको प्रेम हो”, मङ्गलबार साँझ नक्सालमा ‘जनकपुर फिस हाउस’को उद्घाटनका क्रममा बिबिसी मास्टर सेफ सन्तोष साहले भने । 

    नक्सालको मिथिला थाली प्राङ्गणमा सुरु गरिएको ‘जनकपुर फिस हाउस’मा माछाका परिकारमा जनकपुरको स्वाद दुरुस्तै पस्कने उनी बताउँछन् । “माछा पकाउने शैली र स्वाद दुरुस्तै ल्याउने प्रयास गरेका छौँ, यसले उहाँहरुलाई जनकपुरे माछाको तलतल मेटाउने छ”, उहाँले भन्नुभयो । 

    फिस हाउसमा ओपन किचन छ । मङ्गलबार साँझ जनकपुर फिस हाउसमा उपस्थित विभिन्न क्षेत्रका पाहुनालाई सेफ आफैले पकाएर खुवाउँदै थिए । उपस्थित पाहुनाले माछाको स्वाद निकै मीठो भएको प्रतिक्रिया दिएका थिए । उनीहरुले माछाका पारखीका लागि नक्सालको जनकपुर फिस हाउस प्रमुख गन्तव्य बन्नेमा विश्वास व्यक्त गरे ।

    जनकपुरमा जस्तै मोटो तावामा, सर्सिउँको तेलमा तारेको माछालाई धेरैले मन पराउनेमा सेफ साह विश्वस्त छन् ।  

    सेफ सन्तोषको यो काममा उनका दाजु सेफ दिलीपले साथ दिएका छन् । सन्तोषलाई हस्पिटालिटी क्षेत्रमा भित्र्याउने दिलीपसँग नेपाल, भारत र मध्य अमेरिकाका हस्पिटालिटी क्षेत्रमा काम गरेको साढे तीन दशक लामो अनुभव छ ।

    सेफ दिलीपका भन्छन्, “जसरी काठमाडौँमा किलोमा सेकुवा खाने प्रचलन छ, त्यसरी नै माछाको मात्र प्रचलन गर्ने उद्देश्यले यो रेस्टुराँ खोलिएको हो, जनकपुरमा जसरी माछा खाने परम्परा छ, त्यो स्वाद र अनुभव यहाँ ल्याउने हाम्रो प्रयास हो । पछिल्लो समय स्वास्थ संयम भएर ‘व्ह्वाइट मिट’ खाने परम्परालाई पनि यसले सघाउनेछ ।”

    उनका अनुसार फिस हाउसमा करिब दश प्रकारका माछाका परिकार पाइन्छ । स्पेशल तावा फिस अर्डर गर्दा सानो जनकपुरी मुरी (साँदेको खट्टे) र मुलाको अचारसँगै चाख्न पाइनेछ । ट्राउट, झिँगे माछा, फिस चिली, फिस सेट जस्ता परिकारहरू पनि उपलब्ध छन् । सबै परिकारहरू जनकपुरको पारम्परिक स्वाद र शैलीमा तयार पारिन्छन् ।

    जनकपुर फिस हाउसमा पेय पदार्थ पनि सुलभ मूल्यमै उपलब्ध गराइएको सेफ साहको भनाइ छ । 

    पछिल्लो समय सेफ साहले अमेरिकादेखि यूरोप, न्युजिल्यान्ड, अष्ट्रेलिया, जापानसम्म उनले नेपालका विभिन्न समुदाय र जातिका मौलिक परिकार आफ्ना नेपाली रैथाने स्वादका रेसिपीको पप–अप शो आयोजना गर्दै आएका छन्, जसमा साहले करिब डेढ दर्जन परिकार पस्कन्छन । उनको यो पप–अप शो अहिले विश्वका विभिन्न देशमा माग आइरहेको छ ।

    स्वदेशमा भने साह मिथिला थालीको प्रचारप्रसारमा काम गरिरहेका छन् । जनकपुरमा ‘मिथिला थाली’ खोलेको एक वर्ष पछि गत बर्ष काठमाडौँबासीलाई मिथिला परिकार खुवाउने उद्देश्यले लतिलपुरको झम्सिखेलमा ‘मिथिला थाली’ रेष्टुरेन्ट सुरु गरेका साहले त्यसपछि नक्साल र गौशालामा आउटलेट विस्तार गरे । 

    राजधानीबासीलाई मिथिला थालीको स्वाद चखाएपछि सेफ साह यतिबेला जनकपुरको स्वाद पस्कने माछाका परिकार लिएर आएका हुन् । साहका शब्दमा यो प्रयास ‘क्रस प्रमोसन’को एउटा अंश हो ।