दमौली, १८ असार । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले हिजोका दिनमा आलोचना गर्नेहरुलाई आज बधाइ छ भनेर लेख्ने हिम्मत छ भन्दै प्रश्न गरेका छन् । एसइइमा उत्कृष्ट विद्यार्थी र शिक्षकलाई सम्मान गर्न बुधबार आयोजित कार्यक्रममा चुमानले गाउँपालिकाले शिक्षामा लगानी गरेर के क्रान्ति भयो भन्नेहरुलाई आज बधाइ छ भनेर लेख्न चुनौति दिए ।
उनले भने, ‘प्रश्न गर्न सजिलो छ । गाउँपालिकाले शिक्षामा लगानी गरेर के क्रान्ति गरिस् भन्ने हो आज एकचोटी फर्किएर आएर मेरो घरको छेउमा रामशाह मावि छ त्यहाँ शिक्षकहरुले मरी-मरी पढाइरहनुभएको छ, त्यहाँ बच्चाले कसरी पढेको छ, शिक्षकले कसरी पढाएकाो छ त्याो एकपटक हेर्न चुनौति छ । गाउँपालिकाले के प्लान बनाएको छ पुलुक्क हेर्न नसक्नेहरुले सामाजिक सञ्जालमा जे कमेन्ट गर्थे तिनीहरुलाई मेरो च्यालेन्ज छ अहिलेपनि आएर अरुलाई कमेन्ट नगरेपनि उत्कृष्ट अंक सहित पास भएका विद्यार्थीलाई त बधाइ भन । त्यत्रो छाती छ तिम्रो ?’
अध्यक्ष चुमानले अधिकांश विद्यालयका प्रधानाध्यापकले यस वर्ष जसरी पनि नतिजा सुधार आउँछ भन्ने विश्वास व्यक्त गरेकाे र त्यसले पहिल्यैदेखि खुसी बनाएकाो उल्लेख गरे । गत वर्ष विज्ञान र गणितमा निल भएका विद्यालयका विद्यार्थी यस पटक उत्तीर्ण भएकाे बताउँदै चुमानले रामशाह माविले लार्जेष्ट र टलेष्टकाे उपाधि पाएकाे टिप्पणी गरे ।