थानीमाई मन्दिर परिसरमा वृक्षारोपण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    थानीमाई मन्दिर परिसरमा वृक्षारोपण

    खबरपुञ्ज संवाददाता

    २१ असार २०८२, आईतवार

    दमाैली, २२ असार । तनहुँकाे भानु नगरपालिका-७ स्थित बसन्तपुरको थानीमाई मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ ।  आइतबार करिब ३५० बिरुवा रोप्दै नेपाल वन पैदावार उद्योग व्यवसायी तनहुँले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

    वातावरणमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले गरिएको यस कार्यक्रम संस्थाको वार्षिक योजना अनुसार निरन्तरता दिइएको जनाएको छ।

    कार्यक्रममा नेपाल वन पैदावार उद्योग संघ तनहुँका अध्यक्ष दीपबहादुर श्रेष्ठले केवल रुख काटेर मात्र नहुने, त्यससँगै बिरुवा रोप्ने र संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याए। उनले वन क्षेत्रमा बुढा रुखहरू उपयोग नहुँदा खेर गइरहेको उल्लेख गर्दै सरकारद्वारा उल्टै विदेशी काठ, युपीभीसी र आल्मुनियमका सामानहरू आयातमा जोड दिनुले देशको अर्थतन्त्र बाहिरिनु परेको चिन्ता व्यक्त गरे। उनले पुराना रुखहरूलाई व्यवस्थापन गरी वृक्षारोपणमा सुधार गर्नुपर्ने धारणा राखे।

    डिभिजन वन कार्यालयका वन अधिकृत काशीराज पण्डेले वर्षमा कति बिरुवा रोपियो भन्नेभन्दा पनि कति बिरुवा संरक्षण गरियो भन्ने कुराले वृक्षारोपणको सार्थकता देखाउने बताए। उनले पनि वृक्षारोपणलाई सफल बनाउन सबै पक्षबाट सहकार्य आवश्यक रहेको उल्लेख गरे।

    कार्यक्रममा पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारी, भानु नगरपालिका–७ का वडा सदस्य सन्तबहादुर थापा, थानीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले वातावरण संरक्षणमा संस्थाले गरेको कार्यप्रति खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे।