दमाैली, २५ असार । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट पारित गरेको छ । नगरपालिकाको मङ्गलबार आयोजित ४३ औं नगरसभाले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ८१ करोड ७६ लाख १९ हजारको आयव्यय बजेट सर्वसम्मत पारित गरेको हो ।
नगरपालिकाले गत असार १० गते आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो । प्रस्तावित बजेटमध्ये चालुतर्फ ५५ दशमलब ८५ प्रतिशत र पुँजीगततर्फ ४४ दशमलब १५ प्रतिशत रहेको जनाइएको छ ।
नगरसभामा आर्थिक वर्ष ०८२÷८३ को प्रस्तावित बजेट, आर्थिक विधेयक २०८२, विनियोजन विधेयक २०८२ र विभिन्न समिति र कार्यालय प्रमुख एवं शाखा प्रमुखहरुको प्रस्ताव उपर दलबहादुर दुरा, चेतबहादुर दरै, मणिजङ्ग बस्नेत, दधिराज घिमिरे, सरोज भण्डारी, दुर्गाबहादुर आले, हरिशचन्द्र पन्थ, ढालप्रसाद घिमिरे, सुन्दर वाग्ले, रामप्रसाद मिश्र, विज्ञान कैनी, कमला विक, हर्कबहादुर कार्की, सरस्वती सुनार, राधा विक, गौकुमारी न्यौपानेले छलफलमा भाग लिएका थिए ।
नगरसभामा न्यायिक समिति संयोजक इन्दिरा दरै, सामाजिक विकास समिति संयोजक चन्द्रमाया परियार, पूर्वाधार विकास समिति सुरेश थापा, आर्थिक विकास समिति संयोजक खेमराज पोख्रैल, विधायन समितिका संयोजक रमेशचन्द्र हड्खले, लेखा समिति संयोजक विष्णुकुमार श्रेष्ठ, सुशासन समिति संयोजक दलबहादुर दरै, वन वातावरण समिति संयोजक रनसिं नेपालीले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नगरसभाले नगर सभा सदस्य गौकुमारी न्यौपानेको संयोजकत्वमा दधिराज घिमिरे, हर्कबहादुर कार्की सदस्य रहने गरी लेखा समिति पुर्नगठन गर्ने निर्णय गरेको छ । त्यस्तै यज्ञ शर्माको संयोजकत्वमा रफत साना मियाँ र गोकुल दुरा सदस्य रहने अनुशासन समिति गठन गर्ने निर्णय गरिएको छ ।
नगरसभाले व्यास नगरपालिका स्वास्थ्य सङ्गठन संरचना प्रतिवेदन र प्रशासनिक सङ्गठन संरचना संशोधन प्रतिवेदन, घर नक्सा मापदण्ड, मानुङकोट जग्गा विकास सम्बन्धी मापदण्ड संशोधन सहित पारित गरेको प्रवक्ता सुरेश थापाले जानकारी दिए ।