भानुभक्त नेपाली साहित्यको मेरुदण्डः मुख्यमन्त्री पाण्डे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुभक्त नेपाली साहित्यको मेरुदण्डः मुख्यमन्त्री पाण्डे

    खबरपुञ्ज संवाददाता

    २८ असार २०८२, आईतवार

    दमौली, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्य नेपाली साहित्यको मेरुदण्ड रहेको बताएका छन्।

    दुई सय बाह्रौ भानु जयन्तीको अवसरमा तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घावेशीमा आइतबार आयोजित कार्यक्रममा मुख्यमन्त्री पाण्डेले नेपाली भाषाको माध्यमबाट सांस्कृतिक एकता र पहिचान निर्माणमा भानुभक्तको योगदान अतुलनीय रहेको स्मरण गर्दै नेपालमा भाषिक एकिकरण तनहुँबाट आदिकवि भानुभक्त आचार्यले गर्नुभएको उल्लेख गरे ।

    नयाँ पुस्ताले भानुभक्त जस्ता स्रष्टाको जीवन दर्शनबाट प्रेरणा लिनुपर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले सिर्जनशीलता र मातृभाषाप्रतिको अनुराग विकास गर्न गराउन स्थानीय तहसँगको साँझेदारीमा प्रदेश सरकारले नीतिगत पहल गर्ने बताए । सबै भाषा, धर्म संस्कृतिको संरक्षणका सन्र्दभमा गण्डकी प्रदेश सरकार संवेदनशिल रहेको बताउँदै उनले भर्खरैमात्र गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिएको उल्लेख गरे । उनले भने, “गण्डकी प्रदेशमा सबैभन्दा धेरै सङ्ख्यामा रहेका मगर र गुरुङ समुदायको सम्मान र पहिचानमा सरकारले साथ दिएको हो ।”

    कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले भानुभक्तको योगदानबारे चर्चा गरेका थिए ।

    त्यसक्रममा कविता वाचन, रामायण वाचन, चित्रलेखन प्रतियोगितामा विजयी हुनेहरुलाई पुरस्कार वितरण गरिएको छ । भानु जयन्ती असार २६ गतेदेखि विविध कार्यक्रम सहित मनाउन थालिएको थियो । आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार भानु जयन्तीका अवसरमा रक्तदान, बिरामीलाई फलफूल वितरण, साहित्यिक कार्यक्रम सम्पन्न भएका छन् ।