


दमौली, ३१ असार। तनहुँको भानु नगरपालिका-८ निवासी भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् । राष्ट्रिय सभामा नेकपा एमालेको प्रमुख सचेतक न्यौपानेलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीमा नियुक्त गरेका हुन् ।
भानु नपा–८ मा जन्मिएकी न्यौपाने अनेरास्ववियु मार्फत नेकपा एमालेको राजनीतिमा प्रवेश गरेकी हुन् । गोरखा क्याम्पसमा अध्ययनको क्रममा अनेरास्ववियुको राजनीतिमा लागेकी न्यौपाने त्यसपछि अनेरास्ववियु तनहुँको जिल्ला कमिटी सदस्य हु्ँदै एमालेको राजनीतिमा लागेकी हुन् ।
उनी अनेमसंघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य, नेकपा एमाले तनहुँको जिल्ला कमिटी सदस्य, जिल्ला कमिटीको सचिव हुँदै चितवनमा सम्पन्न नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् ।
न्यौपाने २०७६ सालमा राष्ट्रिय सभाको सांसदमा निर्वाचित भएकी थिइन् । राष्ट्रिय सभामा उनको कार्यकाल आगामी फागुन २० गतेसम्म रहेको छ । न्यौपाने पछिल्लो समय राष्ट्रिय सभामा सरकारको पक्षमा खरोरुपमा प्रस्तुत हुँदै आएकी थिइन् । उनी बिधायन समितिको सदस्य समेत हुन् ।
विसं २०३३ साउन १२ गते भानु नपा–८ तनहुँमा जन्मिएकी नवनियुक्त मन्त्री न्यौपानेले त्रिभुवन विश्व विद्यालयबाट अंग्रेजी विषयमा स्नातकोत्तर पुरा गरेकी छिन् । उनले सांसदको रुपमा विभिन्न अन्तराष्ट्रिय फोरमहरुमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएकी छिन् ।