मादी नदी पुलको काम ७१ प्रतिशत सकियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मादी नदी पुलको काम ७१ प्रतिशत सकियो

    खबरपुञ्ज संवाददाता

    ३१ असार २०८२, बुधबार

    दमौली, ३२ असार । मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको दमौलीमा निर्माण हुँदै गरेको मादीनदीमाथिको पुल ७१ प्रतिशत सम्पन्न भएको छ । व्यास नगरपालिका ४ र ५ जोड्ने मादीनदी पुलको काम तीव्र गतिमा भइरहेको हो । 

    पुल निर्माण तीव्र गतिमा प्रभावकारी रूपमा भइरहेको मुग्लिन–पोखरा सडक आयोजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । ‘उक्त पुलमा ६ वटा स्पान हुनेछ । ३१५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीले सन् २०२२ अगस्ट ११ मा रु. एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो,’ उनले भने । 

     पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इन्जिनियर पाण्डेले बताए।

      ‘मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । पूर्वी खण्डअन्तर्गत सडकको काम ८६ प्रतिशत सकिएको छ । आँबुखैरेनी–जामुनेसम्मको ४१.४५ किलोमिटर कालोपत्र सकिएको छ,’ उनले भने । 

    पूर्वी खण्डमा वि.सं. ०७७ माघ १७ गते सम्झौता भई ०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । वि.सं. २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु. ६ अर्ब २१ करोड ३१ लाख १३ हजारमा लागेको छ ।

    पूर्वी खण्डको ठेक्का म्याद असार २९ गते सकिएको छ । केही काम बाँकी रहेकाले म्याद थपका लागि भौतिक पूर्वाधार मन्त्रालयमा सिफारिस गरिएको पाण्डेले बताए ।