तनहुँमा चैते धान प्रबद्र्धन आयोजना : ११७७ मेट्रिक टन उत्पादन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा चैते धान प्रबद्र्धन आयोजना : ११७७ मेट्रिक टन उत्पादन

    खबरपुञ्ज संवाददाता

    ३ श्रावण २०८२, शनिबार

    दमाैली, ३ साउन । तनहुँ जिल्लामा सञ्चालन भएको चैत धान प्रबद्र्धन आयोजनामार्फत् एक वर्षमा एक हजार एक सय ७७ मेट्रिक टन चैते धान उत्पादन भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्राथमिकतामा परेको यस कार्यक्रम मार्फत् तनहुँ जिल्लामा पाँच हजार रोपनी क्षेत्रफलमा चैते धान गरिएकामा उक्त मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

    केन्द्रले १२ सहकारीमार्फत् चैते धान प्रबद्र्धन आयोजना सञ्चालन गरेको थियो । यस कार्यक्रम सञ्चालनका लागि रु ५८ लाख ५० हजार बजेट रहेकामा रु ४२ लाख ९४ हजार खर्च भएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए ।

    उनले भने, “यो कार्यक्रम कृषक समूह वा सहकारीमार्फत् क्लष्टरमा सञ्चालन गरिएको थियो । एउटा क्लष्टरमा कम्तिमा पनि ५० रोपनी क्षेत्रफलमा हुनुपर्ने प्रावधान राखिएको थियो ।” चैते धान प्रबद्र्धन कार्यक्रममार्फत् ७५ देखि ८५ प्रतिशतसम्म अनुदान प्रदान गरिएको उनले बताए । जिल्लालाई चैते धानमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित कार्यक्रम सञ्चालन गरिएको उनकाे भनाइ छ ।

    यस कार्यक्रममार्फत् कृषकलाई आठ हजार एक सय केजी बीउ, १४ मिनीटिलर, चार कम्बाइन मिल, ३२ स्प्रेयर, एक मल्टिक्रप थ्रेसर, दुई सय ४६ त्रिपाल, तीन डिजिटल तराजु, दुई सय जुटको बोरा वितरण गरिएको छ भने आठ सय तीन मिटर कुलो निर्माण गरिएको छ ।

    यस कार्यक्रमका लागि आँबुखैरेनी गाउँपालिका–२ स्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्थालाई रु एक लाख ९३ हजार छ सय २४, बन्दीपुर गाउँपालिका–३ स्थित असौबोटे प्रेम नगर अर्गानिक कृषि समूहलाई रु तीन लाख ५६ हजार चार सय ७६, व्यास नगरपालिका–८ स्थित रिस्ती मादी कृषक समूहलाई रु पाँच लाख २१ हजार दुई सय ६१, व्यास नगरपालिका–९ स्थित फूलबारी कृषक समूहलाई रु एक लाख छ हजार सात सय २५, भानु नगरपालिका–४ स्थित तिलाहार कृषि सहकारी संस्थालाई रु चार लाख ७७ हजार पाँच सय ३९, भिमाद नगरपालिका–६ स्थित भिमाद साना कृषि सहकारी संस्थालाई रु दुई लाख २१ हजार दुई सय ५०, म्याग्दे गाउँपालिका–४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहलाई रु दुई लाख ७६ हजार नौ सय आठ वितरण गरिएको छ ।

    त्यस्तै म्याग्दे गाउँपालिका–३ स्थित स्यागेटारी कृषक समूहलाई रु तीन लाख ५५ हजार पाँच सय ३९, सोही वडाको आम्बोटे कृषक समूहलाई रु तीन लाख ७६ हजार चार सय ८६, व्यास नगरपालिका–१३ स्थित तुलसी कृषक समूहलाई रु पाँच लाख १८ हजार २४, शुक्लागण्डकी नगरपालिका–११ स्थित क्याङ्दी खोला सिर्जनशील आइपिएम कृषक समूहलाई रु तीन लाख ४८ हजार दुई सय ६६ र शुक्लागण्डकी नगरपालिका–१० स्थित युनिक अभियान कृषि सहकारी संस्थलाई रु दुई लाख ४२ हजार दुई सय ५० सहयोग गरिएको केन्द्रले जनाएको छ ।