संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना

    खबरपुञ्ज संवाददाता

    ८ श्रावण २०८२, बिहीबार

    काठमाडौं, ८ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रवाह गर्ने सबै प्रकृतिका सेवा र सोको प्रक्रिया एवं नतिजाका सम्बन्धमा सेवाग्राहीका गुनासाको सुनुवाई तथा समाधान गर्न ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना स्थापना भएको छ ।

    संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले बिहीबार उक्त गुनासो व्यवस्थापन केन्द्रको कार्य सन्चालन शुभारम्भ गरिन् । गुनासो व्यवस्थापन केन्द्रले मन्त्रालयको कार्यक्षेत्र र कार्यसम्पादनसँग सम्बन्धित् विषयका गुनासाहरु व्यवस्थापन गर्न गुनासो व्यवस्थापन इकाईको रुपमा कार्य गर्नेछ ।

    उक्त अवसरमा बोल्दै मन्त्री न्यौपानेले उक्त केन्द्रमा आएका गुनासाहरु जतिसक्दो चाँडो प्रक्रियागत रुपमा समाधान हुने बताइन्। सेवाग्राहीवाट प्राप्त गुनासाहरुको अध्ययन र बर्गिकरण गरी कार्वाही गर्नुपर्ने गुनासाको सम्बोधनका लागि तत्काल प्रक्रिया अगाडि बढाइने मन्त्री न्यौपानेले बताइन् ।

    गुनासो व्यवस्थापनको कार्य गर्न मन्त्रालयका उपसचिवको नेतृत्वमा अन्य कर्मचारी रहने गरी जिम्मेवारी तोकिएको छ । गुनासो व्यवस्थापन केन्द्रले गुनासाहरुको संकलन, वर्गीकरण र सम्बोधन गर्नेछ । कुनै निर्धारित विधि र प्रक्रिया पुरा गर्नु नपर्ने सामान्य प्रकृतिका सूचना वा जानकारी दिनुपर्ने वा स्पष्ट गर्नुपर्ने किसिमका गुनासा भए गुनासो सहजकर्ताले तत्कालै सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ ।

    गुनासो केन्द्रमा रहने कर्मचारीहरुले तत्कालै सम्बोधन गर्न नसक्ने प्रकारको गुनासो भए समाधानका लागि सम्बन्धित शाखामा पठाउने र सम्बन्धित शाखाले तत्काल सम्वोधन गर्न सम्भव हुने गुनासा शाखा प्रमुखयाट तत्कालै सम्बोधन हुनेछ ।

    शाखा प्रमुखले तत्काल सम्बोधन गर्न नसक्ने गुनासा सम्बन्धित महाशाखा प्रमुखसँग छलफल गरी तीन दिनभित्र सम्बोधन गर्ने र सम्बन्धित महाशाखा प्रमुखबाट सम्बोधन हुन नसक्ने प्रकृतिका गुनासा महाशाखा प्रमुखले आवश्यकता अनुसार अन्य महाशाखा प्रमुख र मन्त्रालयका सचिवसँग समन्वय गरी सात दिनभित्र सम्बोधन हुने मन्त्रालयका सचिव रविलाल पन्थले बताए।

    नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने प्रकृतिका गुनासाहरु सम्बन्धित महाशाखा प्रमुखको प्रस्तावमा मन्त्रालयको उच्च व्यवस्थापन समूहको बैठकमा छलफल गरी निर्णय भए बमोजिम मन्त्रीस्तरीय निर्णयबाट एक महिनाभित्र सम्बोधन गरिने व्यवस्था मिलाइएको छ ।

    सरोकारवाला तथा सेवाग्राहीले मन्त्रालयको हटलाइन टेलिफोन नम्बर, मोवाइल नम्बरः ९८५१२७७२१०, ९८५१२७७२११, इमेल gunaso@mofaga.gov.np तथा मन्त्रालयको ट्विटर र फेसवुक मार्फत गुनासो गर्न सकिने मन्त्रालयले जनाएको छ ।