


दमौली, ९ साउन । मुग्लिन पोखरा सडक विस्तारका कारण चेपुवामा परेको भानु घाँसी पार्क पुनर्निर्माण गरिने भएको छ । तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा अवस्थित उक्त पार्क मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) ले पुनर्निर्माण गरिदिन लागेको हो ।
सडक मापदण्डभित्र परेका कारण विस्तार हुँदा विस्थापित भएको उक्त पार्क पुनर्निर्माणका लागि सडक योजनाकै सहयोगमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भएको छ । भानु घाँसी स्मारक संरक्षण समितिका उपाध्यक्ष गोपाल सुर्खालीले राष्ट्रिय विभूति भानुभक्त आचार्यको सम्मानमा निर्माण भएको पार्कलाई थप आकर्षित बनाउन डिपिआर निर्माण भइसकेको जानकारी दिए ।
उनले भने, “राजमार्ग विस्तारका क्रममा पार्कको अस्तित्व नै मेटियो । अब यहीँ ठाउँमा आकर्षक पार्क बनाउनका लागि सडक आयोजनाले सघाउनेछ ।”पार्क निर्माणका लागि रु तीन करोड ५३ लाखमा डिपिआर तयार भएको र स्वीकृतीका लागि एडिबीमा पठाएको उनले बताए । एडिबीबाट स्वीकृत भएर आउने बित्तिकै पार्क निर्माणको काम अगाडी बढाइने सुर्खालीले जानकारी दिए ।
सडक विस्तारकै क्रममा पार्कलाई संरक्षण गरी काम गर्न आग्रह गरिएपनि त्यतिबेला मापदण्डका कारण पार्क जोगाउन नसकिएको सुर्खालीको भनाइ छ । हाल यहाँ भानुभक्त आचार्य र घाँसीकुवाको पुरानो शालिक छ । पुनर्निर्माण पश्चात् त्यसलाई पनि आकर्षक बनाइनेछ । पार्कभित्र शौचालय, स्थानीय उत्पादन विक्री गर्ने स्थल समेत यहाँ बनाइनेछ । सडक विस्तारपछि पार्क विस्थापित हुँदा राजमार्ग भएर यात्रा गर्ने पर्यटक यहाँ आउन कमी भएको छ । अहिले पार्क व्यवस्थित नभएकाले पहिलाको तुलनामा सङ्ख्या कमी छ । पार्क व्यवस्थित भएपछि यस ठाउँ पर्यटकको रोजाइमा पर्ने उनको विश्वास छ ।
मुग्लिन पोखरा सडक विस्तार (पूर्वी खण्ड) का परामर्शदाताका इन्जिनियर मन्दिप श्रेष्ठले निभा कन्सल्टेन्सीमार्फत् डिपिआर तयार भएको जानकारी दिए । यहाँ सार्वजनिक शौचालय, पार्किङस्थल, स्थानीय उत्पादन विक्रीका लागि विक्रीस्थल, नेपालको झण्डा, आकर्षक प्रवेशद्वार, आदिकवि भानुभक्त आचार्यको तीन मिटरको अर्धकदको शालिक, मोतीराम भट्टको अर्धकदको शालिक, पैदलमार्ग, बुल्दी किनारसम्म पुग्नका लागि पहुँचमार्ग समेत निर्माण गरिने श्रेष्ठले बताए ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले भानु घाँसीपार्कलाई सांस्कृतिक केन्द्रको रुपमा विकास गर्नुपर्ने बताए ।
सदरमुकाम दमौलीबाट पाँच किलोमिटर दूरीमा अवस्थित घाँसीकुवामा भानु घाँसी पार्क छ । यसअगाडी पार्क नजिक स–साना टहरामा व्यापारिक पसलहरु सञ्चालन हुँदा यहाँ चहलपहल बढि हुन्थ्यो, तर सडक विस्तारसँगै संरचना भत्किएपछि यहाँ पहिलाको जस्तो चहलपहल छैन ।