तनहुँ जलविद्युत आयोजनामा पानीको सतह सूचना दिने सेन्सर जडान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    तनहुँ जलविद्युत आयोजनामा पानीको सतह सूचना दिने सेन्सर जडान

    खबरपुञ्ज संवाददाता

    १५ श्रावण २०८२, बिहीबार

    दमाैली, १५ साउन । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना निर्माणस्थलमा पानीको सतह सूचना दिने सेन्सर जडान गरिएको छ ।

    आयोजनाले आपतकालीन पूर्व तयारीको रुपमा सेती नदीमा पानीको सतह मापन, अस्थायी बाँध सुरक्षाका निरन्तर निगरानी र आपतकालीन पूर्वतयारीलाई प्रभावकारी बनाउन अस्थायी बाँधमा वास्तविक समय पानी सतहत मापन गर्न सेन्सर जडान गरिएको हो ।

    यसको मुख्य उद्धेश्य अस्थायी बाँध भत्किने अवस्थामा मनसुनको बाढीबाट हुने जोखिम न्यूनीकरण गर्नु रहेको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए । आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अन्तर्गत उक्त प्रणालीले बाढीको सतहको वास्तविक समयमा निगरानी गर्न मद्धत पुग्नुका साथै सार्वजनिक तथा अन्य सरोकारवालासँगको सञ्चारलाई थप प्रभावकारी बनाउने भण्डारीले बताए ।

    उनले भने, “पानीको सतहसम्बन्धी डाटा मल्टिस्क्रिन डिस्प्ले बोर्डमा देखिन्छ, जसले महत्वपूर्ण सूचनाहरु समयमै र तत्कालै प्रवाह गर्न सहयोग पुग्नेछ ।”

    अस्थायी बाँध रहेको स्थान भौगोलिकरूपमा दुर्गम भएकाले विशेषतः रातिको समयमा त्यहाँ पुगेर स्थिति अवलोकन गर्न जटिल हुने हुँदा यस्तो प्रविधिले विपद् न्यूनीकरणमा ठूलो सहयोग पु¥याउने उनकाे भनाइ छ ।

    आयोजनाले मुख्य बाँधस्थलभन्दा तल्लो तटीय क्षेत्रका वासिन्दालाई सेती नदीको जलसतह सतर्कता तहभन्दा बढेमा सतर्कताको पूर्व सूचना दिन आपतकालीन अवस्थाहरुमा प्रभावकारी सञ्चार सुनिश्चित गर्न मोवाइल नम्बरमा सन्देश पठाउन तेस्रो पक्ष सेवा प्रदायकसँग सम्झौता गरिसकेको छ । आयोजनाले आपतकालीन अवस्थाको पूर्व सूचना दिन तल्लो तटीय क्षेत्रभित्रका समुदायलाई एकैपटक मोवाइल फोन प्रयोगकर्ताहरुलाई सतर्कता अपनाउने सन्देश समेटिएको एसएमएस पठाउनेछ ।

    भण्डारीले भने, “यसका लागि त्यस क्षेत्रका वासिन्दाको मोवाइल नम्बर सङ्कलन गरिसकिएको छ । यस प्रणालीको उद्धेश्य बाढीजस्ता आपतकालीन अवस्थामा सम्भावित जोखिममा रहेका तल्लो तटीय बस्तीहरुलाई समयमै सूचना प्रवाह गराई सार्वजनिक सुरक्षा र तयारी क्षमता अभिवृद्धि गर्नु रहेको छ ।”

    आयोजनाले बाढीका कारण नदीको बहावमा हुने वृद्धि र बाँधको गेट खोलेको पूर्वसूचना दिन १७ स्थानमा साइरन जडान गरिसकेको छ । आयोजनाको नदी सुरक्षा व्यवस्थापन योजनाअन्तर्गत बाँध निर्माणस्थलभन्दा तल्लो तटीय क्षेत्रमा पर्ने होक्सेटारदेखि घुमाउने क्षेत्रका समुदायलाई पूर्व सूचना दिन साइरन जडान गरिएको भण्डारीको भनाइ छ ।

    उनले भने, “सेती नदीमा निर्माण हुने १४० मिटर अग्लो बाँध र सोबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउन सक्ने उतारचढाव विषयमा अग्रिम सूचना दिन साइरन जडान भएर सञ्चालनमा आइसकेको छ ।”

    साइरन जडानपश्चात् बाँधमा जम्मा भएको पानीलाई प्राविधिक कारणले एकैचोटी छाड्नुपर्दा नदीमा अकस्मात आउन सक्ने बाढीबाट मानवीय क्षति नहोस् भन्नका लागि नदीमा नुहाउने, लुगा धुने, माछा मार्ने र पौडी खेल्ने कार्य गरिरहेका सर्वसाधारणलाई पूर्व सूचना हुने जनाइएको छ ।