


काठमाडौँ, १७ साउन । पूर्वराष्ट्रपति डा रामवरण यादवले ‘तारापति स्मृतिग्रन्थ’ को विमोचन गरेका छन् । तारापति भट्टराई स्मृति प्रतिष्ठान तनहुँद्वारा शनिबार यहाँ आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले यस्ता कृति इतिहास बुझ्न चाहनेका लागि दस्ताबेजका रूपमा उपयोगी हुने धारणा राखे ।
पूर्वराष्ट्रपति डा यादवले इतिहास र समाजमा गहिरो छाप छोडेका व्यक्तित्वहरूको योगदान भावी पुस्ताले जान्न जरुरी रहेको बताउँदै भने, “इतिहास बुझ्न र मार्गदर्शनका लागि यस्ता स्मृतिग्रन्थहरू अमूल्य दस्ताबेजका रूपमा रहनेछन् ।”
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तारापति भट्टराईको सरल जीवनशैली, सिद्धान्तप्रतिको निष्ठा र जनप्रतिनिधिका रूपमा जनसरोकारप्रतिको समर्पणको चर्चा गरे । पूर्वमन्त्री अर्जुनरसिंह केसीले भट्टराईको राजनीतिक यात्रामा पञ्चायतकालीन आन्दोलनमा अग्रणी भूमिका रहेको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जली अर्पण गरे ।
प्रतिष्ठानका अध्यक्ष महेश्वर भट्टराईले स्व तारापति भट्टराईको योगदान, स्मृति संरक्षणको उद्देश्य तथा ग्रन्थ प्रकाशनको पृष्ठभूमिबारे जानकारी दिएका थिए ।
कार्यक्रमका वक्ताहरूले भट्टराईलाई सादगी, इमान्दारिता र जनतासँगको आत्मीय सम्बन्धका प्रतीकका रूपमा स्मरण गरे । उनीहरुले तनहुँको राजनीतिक, सामाजिक र ऐतिहासिक योगदानलाई पुनःस्मरण गराउने महत्त्वपूर्ण अवसरका रूपमा समारोह रहेको धारणा राखे ।