


दमौली, ३१ साउन । तनहुँको सदरमुकाम दमौलीमा आगामी भदौ १४ र १५ गते नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलन आयोजना गरिने भएको छ । जेसीआई व्यास नगरको आतिथ्यतामा नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलन गर्न लागिएको हो ।
१५ वर्षको लामो अन्तराल पछि जेसीआई व्यासनगरले विगतको अनुभव र सिकाईलाई थप परिस्कृत र परिमार्जन गर्दै सन् २०२५ मा नेपाल जेसीजको एक उत्कृष्ट क्षेत्र ‘ख’ सम्मेलन गर्ने स्-अवसर प्राप्त गरेको सम्मेलनका निर्देशक सुरेश पुरीले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
जिल्लाको पर्यटकीय, धार्मिक, सांस्कृतिक क्षेत्रहरुको परिचय तथा प्रवर्द्धन एवम् आन्तरिक एवं बाह्य पर्यटनसाई दिर्घकालिन रुपमा भित्र्याउने प्रमुख उद्धेश्य सहित सम्मेलन आयोजना गरिएको उनले बताए ।
सम्मेलनमा नेपाल जेसीजका नियमित वैधानिक दायित्वका विषयहरुमा छलफल तथा निर्णयहरु हुने, तनहुँ जिल्लाको धार्मिक ऐतिहासिक, पर्यटकीय, सांस्कृतिक सम्पदाहरुको परिचय तथा प्रवद्धन गर्ने गरी अधिकतम पर्यटकहरुलाई भित्राउने वातावरण तयार हुने, विभिन्न स्थानवाट भूगोल र समुदायका युवाहरुसंग संस्कृती, परम्परा, अनुभव आदान प्रदान गर्ने तथा क्षमता अभिवृद्धिका अवसरहरु उपलब्ध हुने अपेक्षा गरिएको छ ।
पुरीले भने, ‘पर्यटकहरुको आगमन वृद्धि गरी तनहुँ जिल्लामा रहेका होटल व्यवसाय लगायतको व्यवासायीक प्रवर्द्धनमा टेवा पुग्नेछ ।’
सम्मेलनमा नेपाल जेसीज क्षेत्र ‘ख’ अन्तर्गतका ४२ शाखाका प्रतिनिधिहरु, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी तथा मनोनित पदाधिकारीहरु, नेपाल जेसीजका क्षेत्र क, ग’र घ का शाखाहरुका पदाधिकारीहरु, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा पदाधिकारी, जुनियर जेसीज अन्तर्गत देशभरका शाखाका पदाधिकारीको सहभागिता रहनेछ ।
उक्त सम्मेलनमा विभिन्न शाखाका पदाधिकारी, सदस्यहरु, राष्ट्रिय पदाधिकारी तथा पर्यवेक्षक, अतिथी गरी आठ सय जनाको सहभागिता रहने सम्मेलनका सचिव माधव न्यौपानेले जानकारी दिए ।
सम्मेलनका क्रममा कला, संस्कृति विनियम कार्यक्रम, प्रकरण गोष्ठि, प्रशिक्षण कार्यक्रम, पर्यटकीय क्षेत्रको भ्रमण लगायतका कार्यक्रम हुनेछ ।
पत्रकार सम्मेलनमा सम्मेलनका प्रवक्ता कृष्ण सुनार, जेसीआई व्यास नगरका अध्यक्ष सुमित ढुंगानाले सम्मेलनको तयारीबारे जानकारी गराएका थिए ।