संघीय निजामती ऐनले कर्मचारीबीच विद्यमान विभेद अन्त्य गर्नेछ : मन्त्री न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संघीय निजामती ऐनले कर्मचारीबीच विद्यमान विभेद अन्त्य गर्नेछ : मन्त्री न्यौपाने

    खबरपुञ्ज संवाददाता

    ९ भाद्र २०८२, मंगलवार

    दमौली, १० भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले निजामती कर्मचारीबीच विद्यमान विभेदलाई अन्त्य गर्न सरकारले प्राथमिकताका साथ संघीय निजामती ऐन अघि बढाएको स्पष्ट गरेकी छन् ।

    तनहुँको घिरिङ गाउँपालिकामा सोमबार आयोजना गरिएको स्वागत कार्यक्रममा मन्त्री न्यौपानेले कर्मचारी सरुवा-बढुवा मात्र गर्ने निकाय भन्ने धारणा गलत भएको उल्लेख गर्दै मन्त्रालयलाई नीतिगत रूपमा सबल बनाएर संघीयता सबलीकरणको आधारस्तम्भका रूपमा अघि बढाइने प्रतिबद्धता जनाइन् । 

    उनले भनिन्, “विभेद अन्त्य गर्न र प्रशासनमा देखिएका समस्या समाधान गर्न संघीय निजामती ऐन अपरिहार्य छ । सरकार यही ऐनलाई प्राथमिकताका साथ अघि बढाइरहेको छ ।”

    मन्त्री न्यौपानेका अनुसार ऐन प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा टेबल भइसकेको छ । समितिमा छलफल सम्पन्न भइसकेकाले यस अधिवेशनमै पारित हुने विश्वास व्यक्त गर्दै उहाँले उक्त ऐन लागू भएपछि कर्मचारीले उठाएका धेरै गुनासो र असमानता समाधान हुने स्पष्ट पारिन् ।

    यस्तै, उनले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क र सहज पहुँच कायम गर्ने उद्देश्यले मन्त्रालयमा गुनासो सुनुवाइ केन्द्र स्थापना भइसकेको र सोको सेवा प्रारम्भ भइसकेको जानकारी दिइन्।

    मन्त्री न्यौपानेले प्रशासनिक संरचनालाई जनतामुखी र परिणाममुखी बनाउन सरकार गम्भीर रहेको उल्लेख गर्दै स्थानीय तहदेखि केन्द्रसम्म सेवा प्रवाहलाई अझ सहज, पारदर्शी र प्रभावकारी बनाउन मन्त्रालय निरन्तर काम गरिरहेको पनि बताइन् ।