संस्कृति संरक्षणका लागि स्थानीय जागरुक हुनुपर्छ : मुख्यमन्त्री पाण्डे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    संस्कृति संरक्षणका लागि स्थानीय जागरुक हुनुपर्छ : मुख्यमन्त्री पाण्डे

    खबरपुञ्ज संवाददाता

    १३ भाद्र २०८२, शनिबार

    दमौली, १४ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संस्कृति संरक्षणका लागि स्थानीय जागरुक हुनुपर्ने बताएका छन् । नेवाः देय् दबु गण्डकी प्रदेश समितिको आयोजनामा शनिबारदेखि तनहुँको भिमाद नगरपालिका–६ भिमाद रङ्गशालामा सुरु प्रदेशस्तरीय लाखे नाच प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले धर्म, संस्कृति जोगाउनु सबैको दायित्व भएको उल्लेख गरे ।

    गण्डकी प्रदेश संस्कृतिमा धनी रहेको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले भाषा, कला, संस्कृति संरक्षणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । मुख्यमन्त्री पाण्डेले लाखे नाच प्रतियोगिताले यसको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

    मुख्यमन्त्री पाण्डेले नेपाल बहुभाषिक, बहुसांस्कृतिक. बहुजातीय देश रहेको चर्चा गर्दै जुन भाषा, धर्म मानेतापनि पहिला नेपाली रहेको उल्लेख गरे । उनले भने, ‘सबै कुरा सरकारले गरिदिन्छ भनेर बस्नहुँदैन । आफै पनि जागरुक बन्नुपर्छ ।’

    गण्डकी प्रदेशमा जनजातिको बाहुल्यता रहेको र त्यसमा पनि मगर र गुरुङ जातिको बाहुल्यता रहेकाले मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषालाई कानुनी मान्यता दिएको उनको भनाइ थियो । भाषा र संस्कृति संरक्षणका लागि सरकार सबैसँग समन्वय गर्न तयार रहेको उनले बताए ।

    पछिल्लो समय मौलिक संस्कृति लोप हुँदै गएकाले संस्कृति जगेर्नाका लागि लाखे नाच प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष मथुराकृष्ण श्रेष्ठले जानकारी दिए । उनले भने, “संस्कृति संरक्षण गर्दै भावी पुस्तालाई यसको हस्तान्तरण गर्नु अपरिहार्य भइसकेको छ । अहिलेका पुस्ताले मौलिक संस्कृतिप्रति चासो नदेखाउँदा लोप हुन सक्छ ।”

    प्रतियोगितामा गण्डकी प्रदेशका नौ जिल्लाबाट सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख एक हजार एक सय ११, द्वितीय हुनेलाई रु ६१ हजार एक सय ११ नगद सहित प्रमाणपत्र प्रदान गरिनेछ ।

    लाखे नाच नेवार समुदायको परम्परा भएकाले यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको बताए ।