


दमाैली, १४ भदाै । तनहुँको व्यास नगरपालिका–५ पाटन निवासी स्वर्गीय आदित्य राना पौडेलको परिवारले सामुदायिक विद्यालय र ज्येष्ठ नागरिक आश्रममा रु पाँच लाख पाँच हजार एक सय ६४ को अक्षयकोष स्थापना गरेको छ ।
स्वर्गीय पौडेलको निधन भएको ४५ औं दिनको पुण्यतिथिको अवसर पारी शनिबार व्यास नगरपालिका–५ पाटनस्थित पराशर माध्यमिक विद्यालय र सोही वडाको पाटन ज्येष्ठ नागरिक गुरुकुल आश्रममा उक्त रकम बराबरको अक्षयकोष स्थापना गरिएको हो । पराशर माध्यमिक विद्यालयमा रु चार लाख चार हजार ८४ र पाटन ज्येष्ठ नागरिक आश्रममा रु एक लाख एक हजार ८२ को अक्षयकोष स्थापना गरिएको छ ।
पराशर माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रमका स्वर्गीय पौडेलका हजुरबुबा हेम पौडेल, हजुरआमा उषा क्षेत्री, बुबा इन्द्र राना, आमा विद्या पौडेलले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेमार्फत् पराशर माध्यमिक विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेल र ज्येष्ठ नागरिक आश्रमका अध्यक्ष सत्यप्रसाद खनाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।
विद्यालयमा स्थापना गरिएको अक्षयकोषको रकमबाट प्रत्येक वर्ष पाटन युवा क्लवसँग समेत समन्वय गरी अन्तरविद्यालय फुटबल प्रतियोगिताको आयोजना गर्ने र कक्षा १० का प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरिने विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले जानकारी दिए ।
यस्तै आश्रममा स्थापना गरिएको अक्षयकोषबाट प्राप्त हुने व्याजबाट आश्रमका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, व्यास नगरपालिका–५ का निवर्तमान वडाध्यक्ष मोहनकुमार श्रेष्ठको विशेष उपस्थितिमा उक्त रकमको चेक हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा नगरप्रमुख न्यौपानेले पौडेलको परिवारको शैक्षिक तथा सामाजिक योगदानको चर्चा गर्दै आदित्य रानाको स्मृतिलाई सधैँ ताजा राख्ने उद्धेश्यका साथ स्थापित अक्षय कोष उद्धेश्य अनुरुप सञ्चालन गर्न अनुरोध गरे ।
निवर्तमान वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले पौडेल परिवारको शिक्षा तथा सामाजिक क्षेत्रको चासो एवं योगदानको चर्चा गर्दै अक्षयकोष रकमको सही सदुपयोग हुने विश्वास व्यक्त गरे ।