निजामती विधेयक कर्मचारी प्रशासनमा संघीयता कार्यान्वयनको प्रमुख खुड्किलोः मन्त्री न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निजामती विधेयक कर्मचारी प्रशासनमा संघीयता कार्यान्वयनको प्रमुख खुड्किलोः मन्त्री न्यौपाने

    खबरपुञ्ज संवाददाता

    १७ भाद्र २०८२, बुधबार

    काठमाडौं, १८ भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले संघीय निजामती विधेयक कर्मचारी प्रशासनमा संघीयता कार्यान्वयनको खुड्किलो भएको बताएकी छन् ।

    राष्ट्रिय सभाले मंगलबार सर्वसम्मत रुपमा निजामती बिधेयक पारित गरेपछि प्रतिक्रिया दिँदै मन्त्री न्यौपानेले निजामती प्रशासन २०४९ सालको ऐन अनुसार सञ्चालन हुँदा संघीयता कार्यान्वयनमा बाधा पुगेकोले संघीयताको मर्म अनुसार कर्मचारी प्रशासन सन्चालन गर्नकोलागि निजामती विधेयक ल्याइएको बताइन् ।

    विधेयक जारी भएपछि प्रशासनिक संघीयता कार्यान्वयन गर्न सहज हुने मन्त्री न्यौपानेले बताइन् ।  ‘निजामती सेवा ऐन २०४९ ले हालसम्म कर्मचारी संयन्त्रलाई गाईड गरिराखेको थियो, त्यो ऐनले अहिलेको समयलाई सम्बोधन गर्न सक्दैनथ्यो’ मन्त्री न्यौपानेले भनिन्, ‘निजामती ऐन जारी गर्नु पर्ने नै अवस्था भएकोले राष्ट्रिय सभामा सर्वसम्मतले ऐन जारी गर्न सक्यौं ।’ ‘धेरै छलफल र तर्क वितर्क गर्यौं, सबै माननीयहरुले आफूलाई लागेका कुराहरु छलफलको क्रममा राख्नुभयो । कतिपय कुराहरु समझदारी गरेर सरकारलाई लागेका कुराहरु पनि माननियहरुको भावना लाई बुझेर सरकारको तर्फबाट लचिलो बन्यौं ।’ मन्त्री न्यौपानेले भनिन्, ‘आमचासोको रुपपा रहेको कुलिङ अफ पिरिएड र कर्मचारीको अवकास सम्बन्धी उमेर हदलाई पनि सहमतिमा टुङग्यायौं ।’ 

    संसदको यहि अधिवेशनमा निजामती विधेयक पारित हुन्छ या हुन्न भन्ने संशय अव अन्त्य भएको मन्त्री न्यौपानेको भनाई थियो । ‘म जहाँ जाँदा पनि सबैले सोध्ने प्रश्न थियो, निजामती बिधेयक कहिले आउँछ भन्ने थियो,’ मन्त्री न्यौपानेले भनिन् ‘मैले यही संसदको अधिवेशनमा विधेयक आउँछ भन्ने प्रतिबद्धता जनाएको थिएँ, त्यसका लागि म अहोरात्र पनि खटिएको थिएँ । त्यसैको प्रतिफल स्वरुप निर्धारित मितिमै राष्ट्रिय सभाले विधेयक पारित भएको छ ।’

    मन्त्री भएर सपथ ग्रहण गरेपछि आफ्नो पहिलो प्रतिबद्धता नै चालु संसद अधिवेशनमा नै यो विधेयक पारित गर्ने रहेको उनले प्रष्ट पारिन् । 

    नयाँ व्यवस्था अनुसार, ऐन प्रारम्भ भएको आर्थिक वर्षमा ५८ वर्ष पूरा गर्ने कर्मचारीले ५८ वर्षमै अवकाश पाउनेछन् । तर दोस्रो आर्थिक वर्षमा ५८ वर्ष पूरा गर्नेहरूले ५९ वर्षमा अवकाश पाउनेछन् भने तेस्रो आर्थिक वर्षदेखि ६० वर्षको अवकाश उमेर लागू हुनेछ । त्यस्तै कर्मचारीको कुलिङ अफ पिरियड दुई बर्षको हुनेछ । कर्मचारीको मनोबल बढाउन र उहाँहरुको बृत्ति विकासकोलागि नै अवकासको उमेर सम्बन्धी विषयमा सरकारको तर्फबाट धारणा राखेको भन्दै मन्त्री न्यौपानेले अवकासको उमेर सम्बन्धी विषयमा आफ्नो व्यक्तिगत कुनै स्वार्थ नरहेको प्रष्ट पारिन् । 

    राष्ट्रिय सभाबाट पारित उक्त विधेयक सन्देशसहित अब प्रतिनिधि सभामा पठाइने छ । प्रतिनिधि सभाको बिहीबार बस्ने बैठकमा उक्त विधेयत प्रस्तुत हुनेछ । प्रतिनिधि सभाले उक्त विधेयकलाई पारित गरेपछि राष्ट्रपतिले प्रमाणीकरण गर्ने छन् । त्यसपछि यो ऐनका रुपमा लागू हुनेछ । मन्त्री न्यौपानेले विधेयक पारित गर्न अहोरात्र खटिने सांसदहरु तथा सम्पुर्ण कर्मचारीहरुलाई धन्यवाद दिएकी छन् ।