


दमाैली, २० भदाै । मानव बेचविखन नियन्त्रणका लागि सामूहिक प्रतिबद्धता आवश्यक रहेकामा जोड दिइएको छ । मानव बेचविखन विरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय तनहुँ र सामाजिक विकास कार्यालयको संयुक्त आयोजनामा आज दमौलीमा भएको कार्यक्रममा मानव बेचविखन नियन्त्रणका लागि सरोकारवाला सबैको सामूहिक प्रतिबद्धतामा जोड दिइएको छ ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले गरिबी र अशिक्षाका कारण मानव बेचविखन हुने गरेको बताउँदै सचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले भने, “आजभोलि मानव बेचविखनका तरिका बदलिएका छन्, त्यसतर्फ सबै सचेत हुनुपर्छ । सबै सरोकारवाला निकायको सामूहिक प्रतिबद्धताबाट यसको नियन्त्रण सम्भव छ ।”

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले मानव बेचविखन विरुद्ध आवाज बुलन्द गरिराख्नुपर्नेमा जोड दिए । प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले मानव बेचविखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा दक्षिण एसियामै नेपाल उत्कृष्ट रहेको बताए ।

प्रजिअ अधिकारीले नेपालको संविधानको मौलिक हकका छ वटा विषयले मानव बेचविखन विरुद्ध प्रत्यक्ष रुपमा सरोकार राख्ने चर्चा गरे । सङ्घीय, प्रदेश र स्थानीय सरकारको साझा प्रतिबद्धताले मानव बेचविखन नियन्त्रणमा टेवा पुग्ने उनकाे भनाइ थियो ।

कार्यक्रममा व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुर आचार्य, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष धनपति अधिकारी लगायतले मानव बेचविखन विरुद्धमा प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रम अघि दमौली बजारमा प्रभातफेरी निकालिएको थियो । प्रभातफेरीमा विभिन्न सङ्घसंस्था, आमा समूह, टोल विकास संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।