


काठमाडौ, ६ असोज । आज २०८२ असोज ६ गते सोमवार अर्थात आज असोज शुक्ल प्रतिपदा । आजदेखि यो वर्षको बडादशैँ प्रारम्भ भएको छ । आज पहिलो दिन हरेक हिन्दु धर्मावलम्बीको घर–घरमा घटस्थापना गरि बडादशैँलाई विधिवत स्वागत गरिँदैछ ।
यस वर्षको बडादशैँको पहिलो दिन अर्थात आज घटस्थापनाका दिन बिहान ९ बजेर १३ मिनेटको शुभ साइतमा घटस्थापना गर्नु उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको सूचनामा उल्लेख छ ।
आज घटस्थापनाको दिन बिहान ९ बजेर १३ मिनेटको शुभ मुहूर्तमा स्थापना गरिएको कलशमा सम्पूर्ण ब्रह्माण्डका देवी देवताहरूको आह्वा गरी नवरात्र भरी माता दुर्गाजीको भिन्नभिन्न स्वरूपको पूजा अर्चना गर्ने गरिन्छ ।
घटस्थापनाको दिन शुभ साइत बिहानै भए पनि श्रद्धा एवं भक्तिले दिन भरि नै आफ्नो कुलाचार र परम्परा अनुसार घटस्थापना गरी जमरा राख्न सकिने समितिले जनाएको छ ।
विजया दशमीको दिन टीका लगाएर गूहण गरिने जमारा आज घटस्थानको दिन छर्ने कार्य गरिँदैछ छ । जमरा अर्थात अर्थात् जौको जीवन । जसलाई थोरै बालुवा मिसिएको माटोमा छरिन्छ । त्यसपछि नवरात्रि भरि नै हरेक दिन पूजा–अर्चना गरिन्छ । जमरामा जौको अङ्कुरण भए तापनि बडादर्शैको जमरामा जौ लगायत धान, मकै र गहुँका पहेँला, हरिया अङ्कुरित बालाहरू समावेश हुन्छ ।