


दमाैली, ३१ असाेज । जिल्ला समन्वय समिति तनहुँको बैठकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएका कार्यालय पुननिर्माण सुरु गर्न माग गरेको छ । समितिका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बिहीबार जिल्लास्थित दशवटै स्थानीय तहका प्रमुख र उपप्रमुखसहितको बैठकले तोडफोड र आगजनी भएका कार्यालयको पुननिर्माण प्रक्रिया यथाशीघ्र अगाडी बढाउन नेपाल सरकारसँग आग्रह गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले सरकारी कार्यालय, जनप्रतिनिधि र कर्मचारीको निजी आवास एवं सवारी साधनहरुमा समेत भएको तोडफोड र आगजनीप्रति दुःख व्यक्त गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ ।
आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय, तनहुँ जिल्ला अदालत, जिल्ला समन्वय समितिको कार्यालय, गण्डकी प्रदेश सरकार अन्तर्गतका कार्यालय, व्यास नगरपालिकाको कार्यालय, शुक्लागण्डकी नगरपालिकाको कार्यालयमा तोडफोड र आगजनी भएको थियो ।
बैठकले भदौ २४ गतेको कठिन परिस्थितिमा सुझबुझ निर्णय लिइ परिपक्व भूमिका निर्वाह गरी सङ्कट रोक्न सफल हुनुभएकामा राष्ट्रपति रामचन्द्र पौडेललाई जनप्रतिनिधिको तर्फबाट धन्यवाद ज्ञापन गरिएको समन्वय समितिका प्रमुख वाग्लेले जानकारी दिए ।
बैठकले स्थानीय तहका कर्मचारी व्यवस्थापन एवं मितव्ययिता सम्बन्धमा नेपाल सरकार, अर्थ मन्त्रालयको निर्देशनात्मक पत्रको समिक्षा गरी क्रमशः लागु गर्दै जाने निर्णय गरेको छ । बैठकले नजिकिदै गरेको तिहारको अवसरमा खेलिने मौलिक एवं सांस्कृतिक देउसीभैलो कार्यक्रम शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी बेलुकी ९ बजेसम्म मात्र गराउनका लागि जिल्ला प्रशासन कार्यालय तनहुँलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
बैठकमा जेनजी आन्दोलन पश्चात् स्थानीय तहमा परेको प्रभावका विषयमा छलफल गरिनुका साथै जेनजी आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनामा घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।